काठमाडौँ । नेपाल प्रहरीले सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) र उनका छोरामाथि अनुसन्धान अनुसन्धान अघि बढाएको छ । विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी गरेको प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका पुनमाथि प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनको नाम पनि मुछिएकाले उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
यसो त उक्त प्रकरणमा उनका दुई छोराहरु जितेन्द्र पुन (जेठा छोरा) र दिपेश पुन (कान्छा छोरा) माथि पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ । जेठा छोरा जितेन्द्रले शक्तिको दुरुपयोग गर्दै गृहमन्त्रालयबाट आफू हुम्लाबासी भएको परिचयपत्र बनाएर सीमा वारपार गर्ने गरेको पनि खुलेको छ । नन्दबहादुर उपराष्ट्रपति हुँदा उनी दुई कार्याकाल पुनको स्वकीय सचिव थिए ।
त्यस्तै, पुनका कान्छा छोरा दिपेश पनि सुन तस्करी प्रकरणमा मुछिएका छन् । उनी २०७९ सालमा भेपमा लुकाएर ल्याइएको करिब ९ किलो सुन र २०८० मा हङकङबाट ब्रेक शुमा ल्याइएको ७१ किलो सुन तस्करी प्रकरणमा मुछिएका छन् । हाल नेपाल प्रहरीले उनीमाथि पनि अनुसन्धान अघि बढाएको छ ।
सुन तस्करी प्रकरणमा प्रहरीले पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरिसकेको छ । हाल उनीमाथि चिनियाँसँग मिलेर सुन तस्करी गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।