काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छिन् । पदभार ग्रहण गर्दै उनले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई मनोपरामर्श सेवा प्रदान गर्ने पहिलो निर्णय गरेको बताएकी हुन् ।
सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री डा. शर्माले खरिद प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी बनाउने र भ्रष्टाचारको अन्त्य गर्ने प्रतिबद्धता जनाइन् । उनले भनिन्, ‘जेनजी प्रदर्शन भ्रष्टाचारको अन्त्य र सुशासनका लागि भएको थियो । त्यसैले कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस् ।’
मन्त्री डा. शर्माले देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै मानसिक स्वास्थ्यको विषयलाई प्राथमिकतामा राखेको बताईन् ।
उनले जेनजी आन्दोलनमा सहिद भएका परिवारका लागि निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गर्नका लागि अर्थ मन्त्रालयसँग समन्वय गरेर बजेटको व्यवस्था र अन्य प्रक्रिया अगाडि बढाइने बताईन् । मन्त्री डा शर्माले वर्तमान सरकार नागरिक सरकार भएकाले यसको मूल्याङ्कन कामबाट मात्र हुने धारणा राखिन् ।
उनले पारिश्रमिकको विषयलाई लिएर आन्दोलनरत नर्सका समस्या समाधानका लागि पहल थाल्ने बताए ।
स्वास्थ्य सचिवको रूपमा काम गरिसकेकी नवनियक्त स्वास्थ्यमन्त्री डा. शर्मा प्रसूति तथा स्त्री रोग विशेषज्ञका साथै जनस्वास्थ्यविद् पनि हुन् ।













