काठमाडौँ । ८२१ रुपैयाँ प्रतिकित्ता सेयरवापत रकम उठाउन खोजेको रिलायन्स स्पिनिङ्ग मिल्स अन्तत: बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंकलाइन सेवा वापतको बक्यौता तिर्न अटेरी गरेपछि लाइन काटिँदा सो कम्पनीको उत्पादन बन्द भएको हो ।
काम नभएपछि कम्पनीले आफ्ना मजदुरहरुलाई पनि बेतलवी बिदा दिएको छ । काम बन्द भएपछि दिनकै करोडौं रुपैयाँको उत्पादन बन्द भएको छ । यसको सिधा असर कम्पनीको ब्यालेन्स सिटमा पर्ने निश्चित देखिएको छ ।
यसअघि आइपीओ आउने बेलामा कम्पनीले विद्युत प्राधिकरणको बक्यौता तिर्नु ठुलो कुरा नरहेको बताएको थियो । तर अहिले सोहि बक्यौता नतिरेर कम्पनी बन्द भएको छ । यो घटनाले अव सो कम्पनीको आइपीओको मूल्य पुनर्निर्धारण गर्नुपर्ने मागलाई थप बल दिएको छ ।
रिलायन्ससँगै शिवम सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट उद्योगसहितका लाइन पनि काटिएका छन् । यीमध्ये शिवमले भने डिजेलमार्फत नै भए पनि उद्योग चलाईरहेको छ ।
रिलायन्सले मात्र नेपाल विद्युत प्राधिकरणलाई ७५ करोड ३७ लाख रुपैयाँ तिर्न बाँकी छ । प्राधिकरणले यसलाई किस्ता किस्तामा तिर्नसमेत सुविधा दिएको थियो । तर यसअघि पनि राजनीतिक पावरकै भरमा बक्यौता नतिर्ने बानी लागेको कम्पनीले यसपटक पनि बक्यौता तिरेको छैन । सरकार कुनै पनि हालतमा सो बक्यौता उठाउने रणनीतिमा छ । सरकारका उर्जामन्त्री कुलमान घिसिङ्ग बरु सरकारबाटै राजिनामा दिने तर, बक्यौता उठाईछाड्ने लाइनमा छन् । मन्त्री रिझाउन नसकेपछि उद्योगीहरु भने प्रधानमन्त्रीसम्म नै पुगिरहेका छन् । सो कामका लागि उद्योगीहरुले विभिन्न विचौलियाहरु लगाईरहेका छन् । तर घिसिङ्गले भने यसपटक पनि बक्यौता उठाउन बाट रोके आफु सरकारमा नबस्ने र पुन: जनतामा जाने प्रष्ट पारिसकेका छन् ।
प्राधिकरणले यस अघि नै बक्यौता नतिरेकाहरुलाई आइपीओको स्वीकृति नदिन नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरिसकेको छ ।













