काठमाडौँ । विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टको शीर्ष १० सूचीबाट अमेरिका बाहरिएको छ । हेनले एण्ड पार्टनर्सद्वारा प्रकाशित हेनले पासपोर्ट इन्डेक्स २०२५ अनुसार अमेरिका शक्तीशाली पासपोर्टको शीर्ष १० सूचीबाट बाहिरिएको हो ।
हाल अमेरिकी पासपोर्ट विश्वका शक्तिशाली पासपोर्टको सूचीमा १२औँ स्थानमा छ ।
अमेरिकी पासपोर्ट शक्तिशाली पासपोर्टको शीर्ष १० सूचीबाट बाहिरिएको पछिल्लो २० वर्षमा यो पहिलो पटक हो । हाल शक्तीशाली पासपोर्टको शीर्ष १० सूचीबाट बाहिरिएको अमेरिकी पासपोर्ट मलेसिया बराबरीमा पुगेको छ ।
अमेरिकी पासपोर्ट भएका नागरिक २ सय २७ मध्ये १ सय ८० देशमा बिना भिसा प्रवेश गर्न सक्छन् । शक्तिशाली पासपोर्टको सूचीको शीर्ष स्थानमा सिंगापूरको पासपोर्ट रहेको छ । सिंगापूरको पासपोर्ट भएका नागरिक बिना भिसा १ सय ९३ देशमा प्रवेश गर्न सक्छन् । दोस्रो स्थानमा दक्षिण कोरिया छ भने तेस्रो स्थानमा जापानको पासपोर्ट रहेको छ ।
नेपाली पासपोर्ट भने उक्त सूचीको १०१औँ स्थानमा छ । यसअघि सन् २०२५ को पहिलो त्रैमासमा पनि नेपाली पासपोर्ट १०१ औँ स्थानमै थियो भने सन् २०२४ मा भने नेपाली पासपोर्ट १०३औँ स्थानमा थियो ।