काठमाडौँ । डेडिकेटेड तथा ट्रंक लाइन विवाद सल्टाउन निर्णायक वार्ता हुने भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बिजुलीको पैसा नतिर्ने, पैसा उठाउन खोज्ने उर्जामन्त्री कुलमान घिसिङ र प्रधानमन्त्री सुशीला कार्कीबीच निर्णायक वार्ता हुने भएको हो ।
वार्ता सोमबार दिउँसो हुने प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । वार्तामा सहभागी हुन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतका व्यवसायीहरु सिंहदरबार पुगिसकेका छन् ।
वार्तामा उर्जामन्त्री घिसिङसहित अर्थमन्त्री रामेश्वर खनाल र उद्योगमन्त्री अनिल सिन्हा पनि सहभागी हुने बताइएको छ । प्रधानमन्त्रीसहितको उक्त वार्ता डेडिकेटेड तथा ट्रंक लाइन विवादमा निर्णायक वार्ता हुने प्रधानमन्त्री कार्यालय स्रोतले बताएका छन् ।
उर्जामन्त्री घिसिङ कुनै हालतमा डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता उठाउनुपर्छ भन्ने अडानमा छन् भने उद्योगीहरु तिर्दैनौँ भन्ने पक्षमा छन् ।
यसो त पटकपटक ताकेता गर्दा पनि उद्योगीहरुले बक्यौता नतिरेपछि उर्जामन्त्री कुलमान घिसिङकै निर्देशनमा विद्युत प्राधिकरणले कात्तिक ४ गते ६ वटा र कात्तिक ९ गते १९ वटा उद्योगको लाइन काटेको थियो । त्यसयता उद्योगीहरुको सक्रियता बाक्लिएको छ । उनीहरुले प्रधानमन्त्रीमार्फत उद्योगमा लाइन जोड्न दबाब दिने कसरत गरिरहेको बुझिएको छ ।
यता बिजुलीको पैसा नतिर्न प्रधानमन्त्रीबाट दबाब आए कुलमानले राजिनामा दिने र आफू प्रधानमन्त्री नै बन्नेगरी आगामी चुनावमा जाने तयारी कुलमानले गरेका छन् । उनले काठमाडौँका मेयर बालेन्द्र शाहको समर्थनमा नयाँ दल दर्ता गर्ने तयारी समेत गरिसकेका छन् ।













