काठमाडौँ । सर्लाहीको धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले किसानलाई वर्षौँदेखि दिन बाँकी उखुको भुक्तानी नदिएपछि किसानहरू पुनः आन्दोलनमा उत्रिएका छन् । उद्योगले आफ्नो बक्यौता रकम नतिरेको भन्दै किसानहरूले आइतबारदेखि उद्योगको गेटमै धर्ना सुरु गरेका हुन् ।
किसानहरूले आर्थिक वर्ष २०७०/७१ देखि नै उखुको रकम भुक्तानी नपाएको गुनासो गरेका छन् ।
गत वर्ष उखुको मूल्य तोक्दै नतोकिएको अवस्थामा मिल सञ्चालन गरिएको थियो । त्यसपछि पनि किसानहरूले बारम्बार माग गर्दा समेत रकम नपाएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् । २०८० साल फागुन ६ गते जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा उद्योगपतिले २०८१ साल जेठ मसान्तभित्र सम्पूर्ण बक्यौता रकम भुक्तानी गर्ने लिखित प्रतिबद्धता जनाए पनि अहिलेसम्म त्यसको कार्यान्वयन नभएको किसानहरूको गुनासो छ ।
उखु किसानका अगुवा राम आधार राय यादवले चिनी उद्योगीहरूको बेइमानी र उदासीनताविरुद्ध आन्दोलन गर्न बाध्य भएको बताए । ‘अन्नपूर्ण चिनी उद्योगले २०७१ सालदेखिको करिब ९ करोड ७० लाख रुपैयाँ किसानलाई तिर्न बाँकी छ ।’, यादवले भने, ‘कति वर्षसम्म हामीले आफ्नो मेहनतको मूल्य पर्खिरहनुपर्ने ? अब आन्दोलन नै हाम्रो अन्तिम विकल्प हो ।’
तर, उद्योग प्रशासनले यसबारे फरक धारणा राखेको छ । अन्नपूर्ण चिनी उद्योगका प्रशासकीय प्रमुख रमेश प्रसाद श्रीवास्तवका अनुसार पुरानो भुक्तानीसम्बन्धी मुद्दा अहिले सर्लाही जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको छ । उनका अनुसार उद्योग सन् २०७७ सालमा पूर्वस्वामी राकेश अग्रवालबाट उद्योगपति शैलेन्द्र गुप्ताले खरिद गरेका थिए । ‘पुरानो मालिकको समयमा भएको बक्यौता रकम कसले तिर्ने भन्ने विषयमा कानुनी विवाद चलिरहेको छ ।’, श्रीवास्तवले भने ।
श्रीवास्तवका अनुसार गत वर्ष मिल सञ्चालन गर्दा उखुको मूल्य तोकिएको थिएन र उत्पादन (रिकोभरी) पनि अपेक्षाकृत कम आएकोले उद्योग आर्थिक संकटमा परेको हो । तर, किसानहरूले उद्योगका यस्ता कारणहरूलाई ‘बहाना’ भन्दै अस्वीकार गरेका छन् । उनीहरूले उद्योगले विगतमा पनि पटक पटक आश्वासन दिएर किसानलाई धोका दिँदै आएको छ ।













