काठमाडौँ । अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम)ले औपचारिक रूपमा एशिया–प्रशान्त एमच्याम्स (एमच्याम अफ एसिया प्यासिफक)को सदस्यता प्राप्त गरेको छ । सदस्यताप्राप्त गरेसँगै नेपालले २० भन्दाबढी अमेरिकी चेम्बरहरूको महत्वपूर्ण सञ्जालमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
यो उपलब्धि नेपालको निजी क्षेत्रका लागि एतिहासिक र महत्वपूर्ण भएको एमच्यामको भनाइ छ । एमच्याम नेपालले अमेरिकी चेम्बर अफ कमर्शअन्तर्गत विश्वव्यापी रूपमा मान्यता प्राप्त १३०औँ चेम्बरका रूपमा आफ्नो स्थान बनाएको छ । यससँगै नेपालले भारत, चीन, अष्ट्रेलिया, जापान, थाइल्याण्ड जस्ता क्षेत्रीय एमच्याम्ससँगै आफ्नो व्यावसायिक नेटवर्कलाई थप सशक्त बनाएको छ ।
गत अक्टोबर २९ मा आयोजित एमच्याम अफ एसिया प्यासिफकको बोर्ड बैठकमा एमच्याम नेपाललाई औपचारिक रूपमा नयाँ सदस्यको रूपमा स्वागत गरिएको थियो । एमच्याम नेपालका कार्यकारी निर्देशक अमीर थापाले यसप्रति कृतज्ञता व्यक्त गर्दै नेपालको अमेरिकी व्यापार सहभागिता प्रवद्र्धन र दुई देशबीचको व्यापार सम्बन्ध विस्तारमा आफ्नो प्रतिबद्धता दोहोर्याए । उनले विगत तीन वर्षमा चेम्बरको वृद्धि, सदस्यता र अभिव्यक्ति पहलबारे पनि जानकारी दिएका थिए ।
एमच्याम अफ एसिया प्यासिफक नेटवर्कमार्फत एमच्याम नेपालका सदस्यहरूले अब प्रमुख क्षेत्रीय व्यापार सम्मेलन, नीति संवाद र अभिव्यक्ति प्लेटफर्महरूमा पहुँच पाउनेछन् । जसमा वार्षिक एमच्याम नेपाल अथवा एसिया प्यासिफिक विजनेश समिट र अमेरिकी राजधानी वाशिङटनमा हुने डोरनक डेजिग्नेसन समावेश छन् । यसबाट नेपालको व्यापारिक सम्भावना बढाउने, अवसर सृजना गर्ने र विदेशी साझेदारी आकर्षित गर्न अवसर प्रदान गर्नेछ ।
एमच्याम नेपालका अध्यक्ष निर्मल काजी श्रेष्ठले भने, “नेपाल रणनीतिक रुपमा महत्वपूर्ण मोडमा छ । उक्त सदस्यताले नेपाललाई एशियाको व्यापारिक संवादमा केन्द्रमा ल्याउँछ र हाम्रो दृष्टिलाई थप बलियो बनाउँछ ।” योसँगै संस्थापक अध्यक्ष अजित विक्रम शाहले नेपालका उद्यमीहरूले अब क्षेत्रीय मञ्चमा आफ्नो आवाज राख्ने मौका पाएको उल्लेख गर्नुभयो ।
नेपालमा हाल ६१ भन्दाबढी विश्वस्तरीय कम्पनी सञ्चालनमा छन् । एमच्यामको नयाँ क्षेत्रीय भूमिकाले नेपालको निजी क्षेत्रको वृद्धि, लगानी र अवसरलाई तीव्र बनाउने विश्वास गरिएको छ ।





			
						







