काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कर्मचारी कटौती अभियान सुरु गरेको छ । खर्च कटौती गर्ने नीति अनुरुप प्रधानमन्त्री सुशीला कार्कीले दिएको निर्देशन अनुसार निगमले कर्मचारी कटौती अभियान सुरु गरेको हो ।
हाल पहिलो चरणमा काममा सक्रिय नभएका करार र ज्यालादारीका कर्मचारी कटौती गर्न सुरु गरिएको निगमले जनाएको छ ।
निगमका अधिकारीका अनुसार हाल आन्तरिक स्टेसनहरुमध्ये हाल उडान सञ्चालनमा नरहेका आन्तरिक स्टेसनका करार र ज्यालादारीका कर्मचारी कटौती गर्न सुरु गरिएको हो । त्यस्तै, उडान सञ्चालनमा रहेका स्टेसनमा पनि उडान संख्यालाई ध्यानमा राख्दै कर्मचारी कटौती गर्न सुरु गरिएको छ ।
सोही अभियान अन्तर्गत पहिलो चरणमा करार र मासिक ज्यालादारीमा कार्यरत ६ जना कर्मचारीलाई मंगलबारदेखि लागू हुनेगरि बिदा गरिएको निगमले जनाएको छ । अन्य कर्मचारीलाई पनि बिस्तारै विभिन्न ‘स्किम’ दिएर बिदा गर्ने निगमले जनाएको छ ।













