काठमाडौँ । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा भएको एक सय रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याउने भएको छ । राष्ट्र बैंकले एक सुचना जारी गर्दै मङ्सिर ११ गते बिहीबारबाट चुच्चे नक्सा भएको १०० रूपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याउने जनाएको हो ।
नयाँ नोटमा सुरक्षात्मक तथा पहिचानजन्य तत्वहरू थप परिष्कृत गरिएको बैंकले जारी गरेको सुचनामा उल्लेख छ । नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानीछाप राखिएको छ । मध्य भागमा नेपालको चुच्चे नक्सा र अशोक स्तम्भको चित्र समावेश गरिएको छ ।
नोटको मध्यभागमा एक सिंगे गैंडाको माउ र बच्चाको चित्र रहेको छ । साथै, दृष्टिविहीन व्यक्तिहरूले समेत नोट पहिचान गर्न सहज होस भन्ने हिसावले अशोक स्तम्भ नजिकै छामेर थाहा पाउन सकिने कालो थोप्ला पनि थपिएको छ ।
त्यस्तै, बाँयातर्फ अण्डाकार भित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र मुद्रण गरिएको छ । पुरानै रङ र आकारमा जारी गरिएको नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपियाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट १०० रुपियाँ एक सय तुरुन्त पाइने छ’ भन्ने लेखसहित सरकारी ग्यारेन्टी उल्लेख गरिएको जनाइएको छ ।
सुरक्षाका लागि २ मिमी चौडाइको विशेष सुरक्षा धागो राखिएको छ । जसलाई सीधै हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ देखिनेछ । नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको छ । तल्लो भागमा नेपाली अंकमा ‘वि.सं. २०८१’ लेखिएको सिरिज नम्बर समावेश छ ।













