काठमाडौँ । सरकारले काठमाडौँको गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा जडान गरेसँगै यात्रुमा खुसी छाएको छ ।
गुल्मी जानका लागि बसपार्क आउनुभएका चन्द्र केसी मानिसको धेरै आवतजावत हुने स्थानमा नि:शुल्क इन्टरनेट सेवा जडान गरेर जनताको मन जितेको बताउँछन् । ‘काठमाडौँ मात्र नभई नि:शुल्क इन्टरनेट सेवालाई काठमाडौँ बाहिर पनि विस्तार गर्नुपर्छ’, उनी भन्छन् ।
दाङ जानका लागि नयाँबसपार्क आउनुभएका भूपप्रसाद भुसाल पहिलोपटक बसपार्कमा निःशुल्क इन्टरनेट सेवा पाउँदा ज्यादै खुसी लागेको बताउँछन् । नि:शुल्क इन्टरनेटको सेवालाई गाउँगाउँसम्म लैजानुपर्ने उनको भनाइ छ । नयाँबसपार्कको काउन्टरमा कार्यरत बच्चुराम भट्ट सरकारले निःशुल्क इन्टरनेट सेवा दिएर धेरै राम्रो काम गरेको बताउनुहुन्छ । ‘प्रविधिको जमानामा सार्वजनिक स्थानमा नि:शुल्क इन्टरनेट दिँदा यात्रुलाई धेरै सहज भएको छ’, भट्ट भन्छन् ।
धादिङका दीपक ढकाल नयाँबसपार्कमा मात्र नभई काठमाडौँभित्रका सबै ठाउँमा नि:शुल्क इन्टरनेट सेवा विस्तार हुनुपर्ने बताउँछन् । सरकारले नयाँबसपार्कमा नि:शुल्क इन्टरनेट सेवा विस्तार गरेर सराहनीय काम गरेको उनको भनाइ छ । बस व्यवसायी राकेश भट्ट नि:शुल्क इन्टरनेट सेवाको शुभारम्भ गर्नु मात्र ठूलो कुरा नभई यसको निरन्तरता ठूलो कुरा भएको बताउँछन् । ‘सबैले आफ्नो चर्चाका लागि सुरुमा काम गर्छन्, यसले निरन्तरता पाउँछ की पाउँदैन भन्ने मुख्य कुरा हो’, उनी भन्छन्।
माथि उल्लिखित भनाइ केवल प्रतिनिधिमूलक भनाइ हुन् । गत असोज ६ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री बन्नुभएका जगदीश खरेलले आफ्नो पहिलो निर्णयमा हस्ताक्षर गर्दै दुई महिनाभित्र काठमाडौँ उपत्यकाका महत्वपूर्ण सार्वजनिक स्थलमा नि:शुल्क वाइफाईको पहुँच पुर्याउने निर्णयअनुसार यही कात्तिक १९ गते नयाँबसपार्कमा नि:शुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका थिए।
सरकारको सहकार्यमा भायोनेटले जडान गरेको उक्त इन्टरनेट सेवा एक पटकमा एउटा मोबाइलमा ९० मिनेटसम्म नि:शुल्क चलाउन मिल्नेछ । देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतम मुलुकको राष्ट्रिय बसपार्कमा नि:शुल्क इन्टरनेट सेवा जडान हुनु खुसी र गौरवको विषय भएको बताउँछन् ।
‘नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा जडान भएसँगै यात्रुले प्रविधिको प्रयोग गरेर बसको टिकट प्राप्त गर्न सक्नेछन्’, उनी भन्छन् । नयाँबसपार्कबाट हाल दैनिक ७०० देखि ८०० सार्वजनिक सवारीसाधन ओहोरदोहोर गर्दै आएका छन् । जसमा ४०० भन्दा बढी ठूला बस, १५० हाराहारीमा माइक्रोबस र २०० भन्दा बढी काठमाडौँ उपत्यकाभित्र चल्ने स्थानीय बस रहेका छन् ।













