काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको बताएका छन् ।वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रको २९औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री घिसिङले केही काम भएको र अझै धेरै काम गर्न बाँकी रहेको बताए ।
उनले विद्युतीय गाडीको प्रयोग बढिरहेको र भन्सामा प्रयोग भइरहेको ग्यासलाई विस्थापित गरेर इन्डक्सन अथवा वैकल्पिक ऊर्जाको प्रबर्द्धनका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताए ।
मन्त्री घिसिङले अहिले चार्जिङ स्टेशनको सहजीकरणका लागि यसको नीति परिवर्तन गर्न लागिरहेको जानकारी दिए । सिँचाइको क्षेत्रमा सोलारको प्रयोगलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउन सकिन्छ भनेर कार्यायोजना बनाइरहेको जानकारी दिँदै उनले सरकारको नीति सोलारको प्रवर्द्धन रहेको स्पष्ट पारे ।
हावाबाट बिजुली निकाल्ने प्रविधिको विकास गर्नतर्फ सरकारको ध्यान गएको र यसका लागि काम गर्न इच्छुक निजी क्षेत्रलाई मन्त्री घिसिङले आह्वान गरे । यसमा निजी क्षेत्रले खासै चासो दिएको नपाइएको उल्लेख गर्दै उनले भने, ‘वीन पावरमा कोही चाहना राख्छ भने सरकारले सहयोग गर्छ ।’
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विकट ठाउँ र विपन्न परिवारका लागि ठूलो योगदान गरेकामा प्रशंसा गर्दै मन्त्री घिसिङले अझै धेरै गर्न बाँकी रहेको औँल्याए । उनले वैकल्पिक ऊर्जाको कार्यक्षेत्र धेरै बढेकाले अझै प्रभावकारी रूपमा काम गर्न जरुरी रहेको बताए ।













