काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रहरी भन्दै असुली गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । आफूलाई सीआईबीको प्रहरी भन्दै विभिन्न ठाउँमा पैसा असुली गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका-९ लालगढका ४१ वर्षीय रबिन कोइराला र धनकुटाको महालक्ष्मी नगरपालिका-७ का ३३ वर्षीय योगेन्द्र पौडेल छन् ।
उनीहरुलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो । उनीहरुले कार्तिक १६ गते कोटेश्वरको एक होटलमा खाजा खाइरहेका दुईजना व्यक्तिलाई प्रहरी भन्दै धम्काएर इसेवामा ५०-५० हजार रुपैयाँ ट्रान्सफर गर्न लगाएका थिए भने नगद ६ हजार पनि लुटेका थिए ।
उनीहरुको साथबाट प्रहरीले ११ थान पासपोर्ट, १३ थान आईडी कार्ड, ४ थान विभिन्न कार्यालयका छाप, ३ थान एटिएम कार्ड र ११ थान नगद रसिदको ठेली बरामद गरेको छ । हाल पक्राउ परेका दुवैजनाविरुद्ध आपराधिक लाभ लिने कसुरमा जिल्ला अदालत काठमाडौँले ३ दिनको म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको छ ।













