काठमाडौँ । बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल(सिबिफिन)ले ज्योति विकास बैंकका कर्मचारीमाथि गरिएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ । परिसंघले सोमबार एक बिज्ञप्ति जारी गर्दै सप्तरी जिल्लाको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारीहरु कर्मचारीहरुलाई नियोजित रुपमा घण्टौसम्म कब्जामा लिइ गरिएको अत्यन्तै लज्जास्पद, घृणित एवं पशुवत व्यवहार र हिंस्रक आक्रमणको भत्सर्ना गरेको हो ।
‘प्रवाहित कर्जाको किस्ता लामो समयदेखि नियमित हुन नसक्दा सो विषयको समुचित समाधानका लागि स्वयं ऋणीकै आग्रहमा छलफलका लागि पुग्दा अर्धन्यायिक निकायको रुपमा रहेका स्थानीय तहका जिम्मेवार अधिकारीको नेतृत्वमा रहेका ऋणीहरुको जत्थाले निज कर्मचारीहरुलाई नियोजित रुपमा घण्टौसम्म कब्जामा लिइ गरिएको अत्यन्तै लज्जास्पद, घृणित एवं पशुवत व्यवहार र हिंस्रक आक्रमणको सिबिफिन घोर भत्सर्ना गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।
यस्तो आपराधिक घटनालगत्तै स्थानीय सुरक्षा निकायले जाहेरीबिना नै तत्काल अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा उल्टै पीडितको जाहेरीप्रति बेवास्ता गर्दै दर्ता नगरेको र मिलापत्रका लागि दबाब दिएको कार्यप्रति समेत सिबिफिनले आपत्ति जनाएको छ ।
निहीत स्वार्थपूर्तिका लागि बैंक तथा वित्तीय संस्था जस्ता अत्यन्तै संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादति र कर्तव्यनिष्ठ कर्मचारीहरुको जीवनमा गम्भीर मनोवैज्ञानिक असर पार्ने गरी घटाइएका यस्ता बर्बर र आततायी घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारबाही गर्नसमेत नेपाल सरकार, गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसमक्ष सिबिफिनले माग गरेको छ ।
‘जेनजी आन्दोलन र सोपश्चात् सृजित असामान्य परिस्थितिलाई सहजीकरण गर्दै शान्ति सुरक्षा एवं सुशासनको प्रवद्र्धनसहित आर्थिक एवं बैंकिङ क्रियाकलापलाई तीव्रता दिँदै पुनर्निर्माण एवं नवनिर्माणमा नेपाल सरकार दत्तचित्त भएर लागिरहेकै बखत अर्थतन्त्रको आधारस्तम्भको रुपमा रही सोहीबमोजिमका कर्तव्य र जिम्मेवारीहरुलाई गहनपूर्वक निर्वाह गरिरहेका बैंक तथा वित्तीय संस्था र सोमा कार्यरत कर्मचारीहरुमाथि गरिएको यस्तो निकृष्ट आक्रमण कर्मचारी र बैंकिङ क्षेत्रमाथिको मात्र नभई स्वयं नेपाल सरकारमाथिकै आक्रमण भएको हामीले ठानेका छौँ ।’ सिबिफिनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाको कामकारबाहीप्रति कुनै गुनासो भए बैंक तथा वित्तीय संस्थाको माथिल्लो व्यवस्थापनसमक्ष वा नेपाल राष्ट्र बैंकमा रहेको गुनासो सुनुवाइ इकाईसमक्ष समेत उजुरी गर्न सकिने सिबिफिनले जनाएको छ । तर, उक्त व्यवस्था हुँदाहुँदै पनि कानून आफ्नै हातमा लिएर घटाइने यस प्रकारका निन्दनीय कार्यले बैंकिङ क्षेत्र मात्र नभई समग्र मुलुककै भविष्य अन्धकारतर्फ धकेलिन सक्नेतर्फ संवेदनशील भइदिन सरोकारवाला सम्पूर्ण पक्षहरुलाई परिसंघले आग्रह गरेको छ ।
साथै, बैंक तथा वित्तीय संस्था र सोमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन र बैंकिङ सेवालाई निर्वाध रुपमा संचालन हुने सुरक्षित वातावरण निर्माण गर्न संघीय, प्रदेश, स्थानीय सरकार, र गृह मन्त्रालयसहित जिम्मेवार सम्पूर्ण निकायहरुसमक्ष अपिल गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्