Skip to content
LAXMI SUNRISE BANK

ज्योति विकास बैंकका कर्मचारीलाई कुटपिट गर्ने महिला काँग्रेसी उपमेयर, राजनीतिक संरक्षणमा अराजकता !

सुदर्शन श्रेष्ठ

काठमाडौँ । ज्योति विकास बैंकका कर्मचारीलाई कुटपिट गर्ने महिला नेपाली काँग्रेसबाट निर्वाचित नगर उपप्रमुख (उपमेयर) रहेको खुलेको छ । 

मंसिर २४ गते (बुधबार) सप्तरीमा बैंकको रुपनी शाखाका कर्मचारीलाई कुटपिट गर्ने महिला नेपाली काँग्रेसबाट निर्वाचित सप्तकोशी नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरी रहेको खुलेको हो । 

बैंकका दुईजना कर्मचारीलाई कालोमोसो दलेर जुत्ताको माला लगाएर दुर्व्यवहार गरेको भिडियोमा उपमेयर चौधरीले कर्मचारीलाई कुटपिट गरेको देखिन्छ । चौधरीले सुरुमा बैंकका कर्मचारीलाई लट्ठीले हानेकी छिन् भने पछि झापड हानेकी छिन् । 

रिकभरीका लागि भन्दै गएका बैंकका कर्मचारीलाई चौधरीले ‘अर्काको सम्पत्ति लुट्ने ?’, ‘मेरो इज्जतमाथि खेलवाड गर्ने ?’, ‘अर्काको जग्गा बेच्ने को हो यो मान्छे ?’ भन्दै कुटपिट गरेकी छिन् ।

उनले बैंकका कर्मचारीहरुलाई गाली गर्दै दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । सो विषयमा बुझ्न हामीले पटक पटक सम्पर्क गर्दा पनि उनको फोन भने उठेन । 

चौधरी २०७९ सालको स्थानीय तहको निर्वाचनमा एमालेकी संगिता कुमारी चौधरीलाई पराजित गर्दै उपमेयर बनेकी थिइन् । उक्त घटनामा उपमेयर चौधरी, ऋणीहरु (प्रभु नारायण चौधरी, संजिव कुमार चौधरी, पञ्जदेव चौधरी, उमाकान्त चौधरी), संजिव कुमार चौधरीका छोरा सिरज चौधरी र कुटपिटमा संलग्न रविन्द्र स्वर्णकारले बैंकका कर्मचारीमाथि दुर्व्यवहार गरेका थिए ।

यता बैंकले भने कर्मचारीमाथि दुर्व्यवहारबारे प्रहरीमा उजुरी नै दिएको छैन । बैंकका सूचना अधिकारीले उक्त विषयमा नियामक नेपाल राष्ट्र बैंकमा जानकारी गराएको र स्थिति सामान्य भएपछि थप प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK