काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले पछिल्लो १० वर्षमा स्वास्थ्य र शिक्षाजस्ता आधारभूत क्षेत्रमा बजेट घटेको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा बजेट घटेको बताएका हुन् । उनले स्वास्थ्य र शिक्षा क्षेत्रमा बजेट कटौती हुनु राम्रो कुरा नभएको बताएका छन् ।
देशको समग्र राजश्व संरचनामा वृद्धि भएपनि स्वास्थ्य तथा शिक्षा क्षेत्रमा बजेट घटेको अर्थमन्त्रीको भनाई छ । स्वास्थ्य क्षेत्रमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग तथा सरकारी संयन्त्रबीच आवश्यक सहकार्य नभएको कारण बजेट घटेको हुनसक्ने अर्थमन्त्री खनालले बताएका छन् । यसलाई एकैपटकमा सुधार गर्न नसकिने उनको भनाई छ ।
उनले स्वास्थ्य बीमा भुक्तानीको जिम्मेवारी सरकारले लिनुपर्ने पनि बताएका छन् । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बाँकी रहेको भुक्तानी गर्नुपर्ने पक्षमा आफू रहेको उनको भनाई छ । स्वास्थ्यमन्त्रीलाई सबै भुक्तानी छिटो पूरा गर्ने प्रक्रियाका लागि आग्रह गरेको उनले जानकारी दिएका छन् । विगतका सरकारले रोक्यो भनेर अहिलेको सरकारले रोक्न नमिल्ने उनको भनाई छ ।
त्यस्तै, अर्थमन्त्री खनालले स्वास्थ्य बीमा आवश्यक छ वा छैन भन्ने विषयमा भने पुनर्विचार गर्नुपर्नेमा जोड दिएका छन् । राज्यले धान्न नसक्ने संरचना राख्न नहुने उनको भनाई छ । उनले स्वास्थ्य संस्थालाई पर्याप्त वित्तीय पहुँच पुर्याउनुपर्नेमा जोड दिएका छन् । साथै अर्थमन्त्रालयले बिना कारण स्वास्थ्य क्षेत्रको बजेट काट्न नमिल्ने पनि खनालले बताएका छन् । यद्यपि माग्ने बित्तिकै बजेट नपाइने उल्लेख गर्दै उनले राष्ट्रको स्रोत सदुपयोग गर्न सबैले ध्यान दिनुपर्ने बताएका छन् ।








प्रतिक्रिया दिनुहोस्