काठमाडौँ । जनताले राखेको निक्षेप नै कर्मचारीले जुवा खेलेको घटना बाहिर आएपछि ब्राण्ड धुलिसात भएपछि आत्तिएको महालक्ष्मी बिकास बैंक थप अवार्ड खेतीमा लागेको छ । बैंकको राम्रो देखाउने केहि नभएपछि बैंक एक पछि अर्को विवादित अवार्डको पछि लागेको हो ।
यस अघि पनि बैंकले विवादित अवार्ड लिन पैसा खर्च गरेको प्रकरण बाहिर आएको थियो । यस्तै बैंकले अर्को अवार्ड पनि लिएको छ । अचम्मको कुरा त बैंकले सो अवार्ड किन पायो भन्ने विषय नै हाँसो उठ्दो छ ।
बैंकले ‘बैकिङ नवप्रवर्तन तथा ग्राहक सन्तुष्टीमा उत्कृष्ट'(एक्सिलेन्स इन बैंकिङ इनोभेसन एन्ड कस्टमर डिलाइट) विधा अन्तर्गत अवार्ड पाएको भनेको छ । जवकि महालक्ष्मी बिकास बैंकमा आफुले राखेको पैसा नै कर्मचारीले जुवा खेलेर सक्काएपछि कर्मचारी हाल जेलमा छन्, र ग्राहक बैंकको सेवाबाट असन्तुष्ट छन् ।
बैंकले अन्तराष्ट्रिय अवार्ड भनेर अवार्ड लिएको छ । तर बैंकका लागि अन्तराष्ट्रिय भनेकोचाहिं त्यहि भारतीय अवार्ड हो ।
डिसेम्बर ०७, २०२५ मा भारतको नयाँ दिल्लीमा आयोजित एक कार्यक्रमका बीच इन्डिया बिजनेश अवार्ड २०२५ कार्यक्रम मार्फत महालक्ष्मी विकास बैंकलाई उक्त अन्तराष्ट्रिय अवार्ड प्रदान गरेको हो । बैंकले यो अवार्ड पाउँदा के के न पाएजसरी प्रचार गरेको छ । जवकि यो अवार्ड दिने संस्था कुनै अन्तराष्ट्रिय छवि भएको प्रतिष्ठित संस्था होइन ।
अझ, हाँसो उठ्दो कुरा त बैंकले बैंकको ब्रान्ड प्रतिष्ठा सुधार गर्न, ग्राहक विश्वास अभिवृद्धि गर्न, बैकिङ्ग सेवामा नवप्रवर्तनका कार्यहरु गर्न, उत्कृष्ट नेतृत्व तथा वृत्ति विकासमा सुधार गर्न तथा बैंकको मिडिया उपस्थिति र संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा बैंकले गरेको उत्कृष्ट कार्य बापत यो अवार्ड पाएको भनिएको छ ।
बैंकको घोटाला काण्ड मिडियाभर छाएको छ । बाँकी बैंकले नै जवर्जस्ती छाप्न पठाएका समाचार मात्र छन् । अनि कसरी भयो मिडियामा उपस्थिति ? बैंकले गरेको सीएसआर कार्यक्रममा राष्ट्र बैंकले नै इन्सपेक्सनका क्रममा प्रश्न उठाएको छ, अनि अवार्ड भने यहि शिर्षकलाई बेचेर पाएको छ । बैंकको ब्राण्ड सुधार गर्न बैंकले के गर्यो, त्यो कि बैंक नै जानोस्, कि अवार्ड दिने दाता नै । तर बाहिरबाट हेर्दा न बैंकको ब्राण्ड सुधार भएको छ, न दाबी गरिएअनुसार बैंकले राम्रो काम गरेको छ ।
अझ अवार्ड पाएको बैंकले आफुले बैंकिङ सेवामा नवप्रवर्तनका कार्यहरु गरेकोमा अवार्ड पाएको भनेको छ, तर त्यस्तो कुनै कार्य सार्वजनिक रुपमा देखिंदैन ।
अवार्ड भनेको सत्कर्मको सम्मान हुनुपर्छ । तर पछिल्लो समय, महालक्ष्मी बिकास बैंकले पाएको अवार्ड कतै कुकर्म छोप्ने टालो त भईरहेको छैन ? भन्ने प्रश्न उठेको छ । यस विषयमा सम्बन्धित सबै निकाय बेलैमा सचेत हुन आवश्यक छ ।
उक्त अवार्ड बैंकले प्राप्त गर्न सफल भएको हो । दुई देश बीच सीमा–पार (क्रस बोर्डर) वित्तीय सेवाहरुलाई प्रवद्र्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानी सम्बन्धी कार्यहरु गर्दै आएको यस महालक्ष्मी विकास बैंकलाई यस अवार्डको प्राप्तसँगै थप सहज हुने तथा नेपाल र भारतबीचको बैंकिङ्ग सम्बन्धलाई थप मजबुत बनाउन तथा सीमा–पार व्यापार र रेमिटेन्स अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । नेपाल र भारत बीच सीमा पार भुक्तानीमा आवद्ध भएसँगै यस अवार्डको प्राप्ती बैंकको लागि थप महत्वपुर्ण सावित हुने विश्वास समेत बैंकले जनाएको छ । हालै मात्र बैंक इन्डियन चेम्बर अफ कमर्स, भारतको प्रतिष्ठित अवार्डबाट समेत सम्मानित भएको थियो जसले अन्तराष्ट्रिय स्तरमा बैंकको उपस्थिती दर्शाउन तथा ख्याती अभिवृद्धि गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेको थियो ।








प्रतिक्रिया दिनुहोस्