Skip to content
LAXMI SUNRISE BANK

रिज लाइन इनर्जीको आइपिओ खुल्यो, कहिलेसम्म छ आवेदन दिने म्याद ?

अर्थ सरोकार

काठमाडौँ । रिज लाइन इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) खुला गरेको छ । कम्पनीले पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्कासन गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता आइपिओ निष्कासन गर्न अनुमति पाएको छ । जसमध्ये जारी पूँजीको १० प्रतिशत, अर्थात ११ करोड ८५ लाख रुपैयाँ बराबरको ११ लाख ८५ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको छ ।

त्यसैगरी, सार्वजनिक निष्कासन गरिने सेयरमध्ये १० प्रतिशत, अर्थात १ करोड ४२ लाख २० हजार रुपैयाँ बराबरको १ लाख ४२ हजार २०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँडपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ जारी गर्नेछ । सर्वसाधारणका लागि जारी पूँजीको १२ प्रतिशत, अर्थात १४ करोड २२ लाख रुपैयाँ बराबरको १४ लाख २२ हजार कित्ता सेयर निष्कासन गरिनेछ । यसमध्ये २ प्रतिशत (२८ हजार ४४० कित्ता) कर्मचारीका लागि र ५ प्रतिशत (७१ हजार १०० कित्ता) सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी ११ लाख ८० हजार २६० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिनेछ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन छिटोमा पुस २८ गते र ढिलोमा माघ १२ गते बन्द हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आईपीओ छिटोमा पुस १७ गते र ढिलोमा पुस २८ गते बन्द हुने जनाएको छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले कम्पनीको गोरखास्थित कार्यालय, प्रभु क्यापिटलको कमलादी कार्यालय, कम्पनीले उपलब्ध गराएको अनलाइन लिंक, साथै प्रभु बैंकको छेपेटार र पालुङटार शाखा (गोरखा) बाट आवेदन दिन सक्नेछन् । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । पहिलो चरणको आइपिओ बाँडफाँडपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK