काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भ्रष्टाचार अन्त्य भएपछि मुलुक समृद्धिको दिशामा अघि बढ्ने बताएका छन् । उज्यालो नेपाल पार्टीको घोषणासभालाई बुधबार सम्बोधन गर्दै उनले सुशासन नै समृद्धिको प्रमुख आधार भएको बताएका हुन् ।
‘नेपाल समृद्ध हुन धेरै बेर लाग्दैन । समृद्धिको आधार सुशासन हो, जेनजी आन्दोलनले भ्रष्टाचार मुक्त देशको विषय उठाएको हो । भ्रष्टाचार मुक्त देश बन्न सक्यो भने समृद्धितर्फ अघि बढ्छ’, मन्त्री घिसिङले भने । सही पात्र सक्रिय राजनीतिमा आउनुपर्नेमा जोड दिँदै उहाँले सही पार्टी र नेतृत्व चुन्ने बेला आएको बताए ।
राजनीतिमा जनविश्वास सबैभन्दा महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री घिसिङले विगतदेखिका निराशा र आक्रोश जेनजी आन्दोलनका रूपमा विस्फोट भएको तर्क गरे । उनले जेनजी आन्दोलनपछिको परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई अग्रगामी दिशामा लैजान वर्तमान सरकार केन्द्रित भइरहेको स्पष्ट पारे ।
‘आसन्न निर्वाचनले जेनजी परिवर्तनलाई संस्थागत गर्नेछ । अब पविर्तनको नेतृत्व नयाँ र विकल्प दिन सक्ने व्यक्तित्व, संस्था र पार्टीले गर्नुपर्छ’, मन्त्री घिसिङले भने, ‘यसका लागि आमजनसमुदायको भावनाअनुसार सबै बैकल्पिक शक्ति एक ठाउँमा आउनुपर्छ । जस्तो सुकै परिस्थितिमा पनि एकताबद्ध भएर परिवर्तनलाई परिणाम दिने अवस्थामा लैजानुपर्छ ।’
त्यस्तै, पूर्वमन्त्री सुमना श्रेष्ठले बैकल्पिक शक्ति एकताबद्ध हुन नसक्दा निर्वाचनमार्फत पूरानै राजनीतिक दलहरू हाबी हुनसक्ने औँल्याउँदै अहिलेको अवस्थामा विकल्प दिन चाहने शक्तिहरू एक हुनुपर्नेमा जोड दिइन् । उज्यालो नेपाल पार्टीकी नेत्री रिमा विश्वकर्माले देश र जनताले परिणाम दिनसक्ने नेतृत्व खोजिरहेको जनाउँदै क्षमतावान् व्यक्तित्वले राजनीतिमा हस्तक्षेप बढाउनुपर्ने बताईंन् ।
त्यसक्रममा मन्त्री घिसिङले सो पार्टीको आधिकारिक वेवसाइट शुभारम्भ गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्