Skip to content
LAXMI SUNRISE BANK

मुस्ताङमा पुगेनन् निर्वाचन प्रहरी, आवेदन दिन तेस्रोपटक म्याद थपियो

अर्थ सरोकार

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङले तेस्रोपटक थप दुई दिन म्याद थप गरेको छ । जिल्ला प्रहरी कार्यालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका लागि आवश्यक माग सङ्ख्याका लागि दुईपटक दरखास्त आह्वान गरेको थियो । तर दुई पटक म्याद थप गर्दा पनि छनोट प्रक्रिया सकिँदासम्म माग सङ्ख्या अपुग भएकाले पुनः तेस्रोपटक निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वानको कार्यतालिका सार्वजनिक गरेको हो ।

यसअघि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको संयुक्त कार्यविधि २०८२ अनुसार मुस्ताङमा निर्वाचन प्रहरी छनोट, नियुक्ति तथा परिचालनका लागि योग्यता पुगेका नेपाली नागरिकबाट एकीकृत रूपमा दुई पटकसम्म निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयले पहिलोपटक २५ पुसमा निर्वाचन प्रहरी भर्नाका लागि आवेदन खुला गरेको थियो । पुस २५ देखि माघ १ गतेसम्मको कार्यतालिका अवधिमा आवश्यक माग सङ्ख्या अपुग भएपछि पुनः दुई दिनको म्याद थप गरेको थियो । निर्वाचन सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयले दुई सय ६६ जना र सशस्त्र प्रहरी बल नेपालले ४६ गरी तीन सय १२ जना निर्वाचन प्रहरीको माग गरी दरखास्त खुलाइएको थियो ।

दोस्रोपटक म्याद थप भई छनोट प्रक्रिया सकिँदा दुई सय ९० जना व्यक्तिमात्रै सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिएका छन् । आवेदन दिएकामध्ये केही छनोट प्रक्रियामा अनुउत्तीर्ण भएका र कतिपय सम्पर्कमै नआउँदा सङ्ख्या नपुगेकाले थप दुई दिनको म्याद थप्नुपरेको उनको भनाइ छ ।

उनले जिल्लामा निर्वाचन प्रहरीमा भर्ना हुनका लागि मुस्ताङसहित जिल्ला बाहिरका उल्लेख्य व्यक्ति मुस्ताङ आएको बताए । निर्वाचन प्रहरी भर्ना हुनेमध्ये ८० प्रतिशत व्यक्ति जिल्ला बाहिरका रहेको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । भर्ना हुनेमा अधिकांश सडक, कृषि र होटल मजदुर रहेको उनको भनाइ छ । निर्वाचन सुरक्षाका लागि छनोट गरिएका निर्वाचन प्रहरीलाई आवश्यक प्रक्रिया पूरा गरी नियुक्ति प्रदान गरिने र त्यसपछि माघ १५ देखि २५ गतेसम्म शारीरिक प्रशिक्षण तालिम सञ्चालन गरिने जनाइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK