Skip to content
LAXMI SUNRISE BANK

मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम, कसरी हुने सहभागी ?

अर्थ सरोकार

काठमाडौँ । मिथिला चित्रकलालाई प्रवर्द्धन गर्ने उद्देश्यले मिथिला चित्रकलाको प्रयोगात्मक तालिम दिइने भएको छ । मिथिला थाली बाई सेफ सन्तोष शाह, सुडी महिला कल्याण समाज र रोटरी न्यातपोलको सहकार्यमा काठमाडौँमा चार दिने चित्रकला तालिम दिइने भएको हो ।

मिथिला कलामा रुचि राख्ने महिला तथा बालबालिकालाई लक्षित गर्दै आयोजना गरिएको यस तालिममा मिथिला पेन्टिङका आधारभूत सीप, डिजाइन, चित्रमा रंगहरुको संयोजनका बारेमा दक्ष प्रशिक्षकद्वारा सिकाइने छ ।

प्रशिक्षण माघ १४, १५ र १६ गते सेफ सन्तोष शाहको मिथिला थालीमा सञ्चालन हुनेछ । पहिलो दिन नक्साल, दोस्रो दिन गौशाला र तेस्रो दिन झम्सिखेलका विभिन्न आउटलेटमा तालिम दिइने छ । तालिम दिउँसो १ बजेदेखि ३ बजेसम्म सञ्चालन हुने जनाइएको छ । तीन दिने लगातार तालिमपछि १० दिनको अन्तरालमा नक्साल स्थित मिथिला थालीको आउटलेटमा अन्तिम प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धामा विजयी हुनेलाई नगद पुरस्कारको पनि व्यवस्था गरिएको आयोजकले बताएको छ ।

तालिममा सहभागी हुनको लागि मिथिला थाली अथवा रोटरी न्यातपोलको आधिकारी फेसबुक पेजमा राखिएको क्यूआर स्क्यान गरी गुगल फर्ममा आवश्यक विवरण भर्नुपर्ने हुन्छ । दर्ताको विषयमा अन्योल भएमा ९८६२३००८८९ मा सम्पर्क गरेमा सहजीकरण गरिने आयोजकले जनाएको छ । उक्त फर्म भरिसकेपछि आयोजकले तालिममा सहभागी हुन सक्ने व्यक्ति छनोट गर्नेछ । तालिमको लागि छानोट भएमा आयोजक टोलीले सम्बन्धित व्यक्तिसँग सम्पर्क गर्नेछ ।

त्यसपछि छनोट भएकासँग प्रतिव्यक्ति पाँच सय रुपैयाँको दरले दर्ता शुल्क लिइने छ । जम्मा भएको दर्ता शुल्क सामाजिक काममा खर्च गरिने सेफ सन्तोष शाहले बताएका छन् । शुल्क बुझाएपछि मात्र तालिममा सहभागी हुन पाइने छ । सहभागीहरुलाई तालिममा आवश्यक पर्ने रङ, ब्रस, बोर्ड र खाजाको व्यवस्था आयोजक गर्ने छ, तर भने आवासको व्यवस्था सहभागी आफैले गर्नुपर्नेछ ।

मिथिला चित्रकलालाई जनकपुरमा मात्र सिमित नराखि देश विदेशमा पनि चिनाउने र प्रवद्र्धन गर्ने उदेश्यले यस्तो तालिमको व्यवस्था गरिएको सेफ सन्तोष शाहले बताएका छन् । सेफ शाहले मिथिला चित्रकलाको महत्व र यसको इतिहास सबैले जान्न जरुरी रहेको बताउँदै यसलाई व्यवसायीक रुपमा पनि अघि बढाउन आवश्यक रहेको उल्लेख गरेका छन् । महिलाहरुलाई यस्तो सिप सिकाएर आत्मनिर्भर बनाउनु पनि यसको उदेश्य रहेको उनले बताए । ‘धर्म, संस्कृति र परम्परालाई जोगाउन आवश्यक छ । यसलाई प्रवद्र्धन गर्न पनि आवश्यक छ । अब आउने नयाँ पुस्तालाई पनि मिथिला संस्कृतिको बारेमा सिकाउन आवश्यक छ । त्यसैको लागि यस्तो प्रशिक्षण गराउनु पर्छ ।’ सेफ शाहले बताए ।

सुडी महिला कल्याण समाजकी अध्यक्ष रुवी महतो पुर्वेले पनि अहिलेको समयमा महिलालाई आत्मनिर्भर बनाउन आवश्यक रहेको कुरा बताएकी छन् । ‘महिलाहरु यत्तिकै घरमा बस्नुभन्दा यस्तो तालिममा सहभागी भइ सीप सिक्न सक्छन् र आम्दानी पनि गर्न सक्न् । पहिला हामीले नै सीप सिकाएका महिलाले अहिले आफैँ काम गरेर पैसा कमाइरहेका छन् ।’ उनले बताइन् । तालिममार्फत सहभागीहरूले परम्परागत मिथिला चित्रकलाको ज्ञान हासिल गर्दै आत्मनिर्भर बन्ने अवसर पाउने अपेक्षा गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK