Skip to content
LAXMI SUNRISE BANK

आइक्यानको ८औँ दीक्षान्त समारोह सम्पन्न, १४१ चार्टर्ड एकाउन्टेन्ट दिक्षीत

अर्थ सरोकार

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) को आठौं दीक्षान्त समारोह शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । महालेखापरीक्षक तोयम राया प्रमुख अतिथि र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ विशिष्ट अतिथि रहेको उक्त समारोहमा १४१ जना चार्टर्ड एकाउन्टेन्स् दीक्षित भएका छन् ।

दीक्षित चार्टर्ड एकाउन्टेन्टहरूलाई प्रमुख अतिथि रायाले दीक्षान्त प्रमाणपत्र हस्तान्तरण गरेका थिए । दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि रायाले सुशासनमार्फत राष्ट्र निर्माणमा योगदान गर्न चार्टर्ड एकाउन्टेन्टहरूलाई आग्रह गरे । उनले सरकार, नियामक निकाय र सरोकारवालाबीच सहकार्यको आवश्यकता औंल्याउँदै उच्च नैतिकतासहितको पेसागत विकासमा जोड दिए ।

चार्टर्ड एकाउन्टेन्ट राष्ट्रको आर्थिक विकासका लागि आवश्यक विशिष्ट पेसा रहेको बताउँदै महालेखापरीक्षक रायाले नवदीक्षित चार्टर्ड एकाउन्टेन्टहरूलाई शुभकामना पनि दिए ।

सार्वजनिक वित्त व्यवस्थापन, पारदर्शिता, आन्तरिक नियन्त्रण प्रणालीको सुनिश्चितता गर्न चार्टर्ड एकाउन्टेन्टस्को भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । पेसागत निर्णयमा नैतिकता, स्वतन्त्रता र विवेकको समुचित प्रयोग गर्न सुझाएका महालेखापरीक्षक रायाले प्रविधि र उपकरणमा जतिसुकै परिवर्तन आए पनि नैतिक मूल्यमा सम्झौता गर्न नहुनेमा जोड दिए ।

त्यस्तै, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठले यतिबेला सरकारी वित्त दबाबमा रहे पनि बाह्य क्षेत्र ठिकठाक रहेको र मुद्रस्फीति पनि वाञ्छित सीमाभित्रै रहेकोले चिन्ता लिनुपर्ने अवस्था नरहेको बताए ।

समारोहमा आइक्यान अध्यक्ष सिए निलबहादुर सारु मगरले नयाँ सिएहरूलाई स्वागत गर्दै संस्थाले लिएको पहलकदमीबारे जानकारी गराएका थिए । संस्थाले पछिल्लो समय सिए वल्र्डवाइडको सदस्यता लिएको, ग्लोबल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल-गेन परियोजना सुरु गरेको, पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सम्पन्न गरेको तथा युजिसीसँग समझदारीपत्रमा हस्ताक्षर गरेको तथा लेखा व्यवसायीको दायरा अभिवृद्धि लगायत विषयपनि अध्यक्ष सारुमगरले जानकारी गराएका थिए ।

सो अवसरमा आइक्यानले आयोजना गरेको क्विज र पब्लिक स्पिकिङ प्रतियोगिताका विजेतालाई मेडल र पुरस्कार वितरण गरिएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK