Skip to content
LAXMI SUNRISE BANK

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका कर्मचारी कुटिए, कुट्नेलाई कारवाही नगरे आन्दोलन गर्ने चेतावनी !

अर्थ सरोकार

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका कर्मचारीमाथि निर्घात कुटपिट भएको छ । बैंकको घोराही शाखामा कार्यरत कर्मचारीमाथि अराजक समुहले आइतबार कुटपिट गरेको हो ।

कर्जा असुलीका क्रममा ज्यान मार्ने नियतसहित कर्मचारीमाथि निर्घात कुटपिट भएको छ । ज्योति विकास बैंकका कर्मचारी कुटिएको घटना सेलाउन नपाउँदै यो घटना सार्वजनिक भएको हो । केहि समय अघि मात्रै ज्योति विकास बैंकका कर्मचारीलाई कर्जा असुलीका क्रममा कालोमोसो दलेर कुटपिट गरिएको थियो ।

यसरी बैंकका कर्मचारी कुटिनुले नेपालको बैंकिङ क्षेत्र तरङ्गित भएको छ । यस्ता घटनाप्रति विज्ञप्ति जारी गर्दै नेपाल इन्भेस्टमेन्ट मेगा बैंक कर्मचारी युनियनले गम्भीर आपत्ति जनाउँदै नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।

‘पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीहरुमाथि प्रत्यक्ष, अप्रत्यक्ष रुपमा विभिन्न समुहहरूको प्रहारको केन्द्र बन्दै जाने स्थिति व्याप्त हुँदै गएको छ ।’ युनियनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ‘कर्मचारीलाई कर्जा असुलीको सिलसिलामा अराजक, अपराधी र उदण्ड व्यक्तिद्वारा ज्यान मार्ने नियतसहित गरिएको निर्घात कुटपिट गर्ने जस्तो अमानवीय, बर्बर तथा आपराधिक घटना प्रति युनियन खेद प्रकट गर्दछ ।’  

कानुन हातमा लिने, कर्मचारीमाथि हिंसा गर्ने र बैंकिङ प्रणालीलाई ध्वस्त पार्न खोज्ने व्यक्तिहरूलाई ज्यानमार्ने उद्योगसम्मको अभियोगमा कारवाही गर्न युनियनले माग गरेको छ । त्यस्तै, युनियनले राज्यले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूको ज्यान, पेशागत मर्यादा तथा सुरक्षाको सुनिश्चितता गर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ । 

दिन प्रति दिन यसरी कर्मचारी कुटिँदा पनि राज्य, नियामक निकाय र सुरक्षा संयन्त्र अझै मौन बसिरहे सम्पूर्ण बैंक शाखा बन्द गरी राष्ट्र बैंक र अर्थ मन्त्रालयमा चाबी बुझाएर आन्दोलनमा जान बाध्य हुने युनियनले चेतावनी समेत दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK