Skip to content
LAXMI SUNRISE BANK

बैतडी बस दुर्घटना: मृतकका परिवारलाई एक लाख दिने प्रदेश सरकारको निर्णय

अर्थ सरोकार

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार राति बैतडीको पुर्चौंडीमा भएको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई मानवीय सहायतास्वरुप जनही एक लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दुर्घटनाबाट घाइते भई सरकारी अस्पतालमा उपचारका लागि भर्ना भएको अवधिभरको औषधोपचार खर्च सरकारले व्यहोर्ने निर्णय पनि गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार डम्मर बमले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौँसम्म लैजानुपर्ने भएमा होलिकप्टरको व्यवस्थापन पनि गरिएको छ ।

बैतडीको पुर्चौंडी नगरपालिका-७ भवनेबाट बझाङतर्फ गइरहेको सुप प्र०२००१ख १११९नम्बरको विवाहका जन्ती चढेको बस पुर्चौंडी सडकखण्डको बडगाउँ भन्ने मोडमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । घाइते ३५ जनामध्ये डडेलधुरा अस्पतामा २३, धनगढीको निसर्ग अस्पतालमा सात र बझाङमा पाँच जनाको उपचार भइरहेको छ ।

उक्त बस सडकबाट झण्डै १५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको क्षेत्रीय ट्रफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराले बताए । उनका अनुसार दुर्घटनामा घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, मुख्यमन्त्री कमलबहादुर शाहले १३ जनाको ज्यान जानेगरी बिहीबार राति बैतडीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घटनाबाट आफू स्तब्ध भएको बताएका छन् । मुख्यमन्त्रीले दुर्घटनामा मृत्यु हुनेप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकूल परिवारमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK