Skip to content
LAXMI SUNRISE BANK

झापा-५ः एमाले र काँग्रेसका दर्जन बढी नेता रास्वपा प्रवेश, माग्दैछन् बालेनको पक्षमा भोट

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा-५ मा उम्मेदवारी दिएसँगै एमाले र काँग्रेसका दर्जनबढी अगुवा युवा तथा नेताहरु पार्टी परित्याग गरेर रास्वपा प्रवेश गरेका छन् । पार्टी परित्याग गरेर उनी ‘बालेन जिताउ अभियान’ मा लागेका हुन् । 

अहिले झापा-५ मा सक्रिय राजनीतिमा रहेका काँग्रेसका प्रकाश प्रसाईं र एमालेका सन्तोष दुलाल लगायतका युवा नेताहरु बालेनको पक्षमा लागेका छन् । 

केहीले रास्वपाका उम्मेदवार बालेन शाहसँगको फोटो नै सार्वजनिक गर्दै पार्टी छोडेको जानकारी दिएका छन् भने केही फेसबुकमा ‘स्ट्याटस’ लेख्दै पार्टीबाट राजीनामा दिएर रास्वपा प्रवेश गरेको जानकारी दिएका छन् । पार्टीका युवा नेता तथा कार्यकर्ता पार्टी छोड्दै बालेनको पक्षमा लागेपछि अहिले यही विषय एमाले र काँग्रेसका शीर्ष नेताको टाउको दुखाई बनेको छ । 

स्थानीय नेताहरुको दाबी अनुसार अहिले झापा-५ मा एमाले, काँग्रेस तथा अन्य दल परित्याग गरी बालेनलाई सहयोग गर्नेहरुको संख्या बढिरहेको छ । यसरी पार्टी परित्याग गरेर अन्य दलका युवा नेताहरु नै बालेनको पक्षमा लाग्न थालेपछि त्यसको सबैभन्दा ठूलो असर पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पर्ने विश्लेषण छ । 

झापा-५ ओलीले निरन्तर निर्वाचन जित्दै आएको क्षेत्र हो । बालेनका लागि यो क्षेत्र नयाँ हो । तर, पछिल्लो समय आगामी निर्वाचनमा बालेनलाई जिताउन एमाले र काँग्रेसका युवा नेताहरुले धेरै लागेको देखिएको छ । एमालेका युवा नेता दुलाल बालेनलाई झापा-५ मा उम्मेदवार बनाउन सक्रिय युवामध्ये एक हुन् । त्यस्तै, माघ ६ गते उम्मेदवार मनोमयनकै दिन काँग्रेस दमक नगर सभापति प्रसाईं पार्टी परित्याग गरेर बालेनसँगै उम्मेदवार दर्ता गर्न निर्वाचन कार्यालय पुगेका थिए ।

प्रसाईं झापा-५ मा काँग्रेसका मुख्य ३/४ नेतामध्ये एक मानिन्छन् । ३ कार्यकाल दमक उद्योग वाणिज्य संघको अध्यक्ष भएका प्रसाईं राजनीतिकव्यवसायीहरुमाझ हुने जुनसुकै निर्वाचनमा मुख्य अगुवा नेता मानिन्छन् । प्रसाईंकी श्रीमती रेगिना भट्टराई प्रसाईं दमक नगरपालिकामा काँग्रेसका तर्फबाट निर्वाचित उपमेयर हुन् ।

प्रसाईं रास्वपाका उम्मेदवार बालेनको पक्षमा लागेपछि काँग्रेसका धेरै नेता तथा कार्यकर्ता पार्टी परित्याग गरेर उनकै सिको गर्दैछन् । काँग्रेसका कमल गाउँपालिका समितिका सचिव महेन्द्र बुढाथोकी, ५ नम्बर क्षेत्रीय समितिका सदस्य तथा मारवाडी सेवा समिति दमकका पूर्व अध्यक्ष तथा व्यवसायी दिनेश अग्रवाल, काँग्रेसका सदस्य तथा व्यवसायी सोम खनाल पार्टी परित्याग गरि बालेनलाई सहयोग गर्न सक्रिय छन् । काँग्रेसका जिल्ला सदस्य तथा बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बलराम कार्की पनि पार्टी परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेका छन् । 

त्यस्तै, सन्तोष दुलालसँगै एमालेका दर्जनबढी स्थानीयदेखि केन्द्रीय नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेर रास्वपा प्रवेश गरेका छन् । २०५७ सालदेखि पार्टीको विभिन्न तहमा काम गरेका र हाल एमालेको युवा विद्यार्थी विशेष काठमाडौँका सल्लाहकार सचिव राजेश प्रसाईं र झापा जिल्ला सदस्य योगेश उप्रेतीले पनि पार्टी परित्याग गरेर बालेनलाई सहयोग गर्न सक्रिय भएका छन् । 

एमालेको झापा-५ का क्षेत्रीय उपसचिव तथा युवा व्यवसायी महेन्द्र खड्का, दमक नगर सदस्य तथा स्वास्थ्यकर्मी चन्द्र थापा, युवा नेता महेश घिमिरे, अर्जुन मैनालीले एमाले छोडेर बालेन र स्वतन्त्र पार्टीमा सक्रिय छन् । उम्मदेवारी मनोनयन गरेकी दिन बेलुका एमालेको युवा संघ दमकका अध्यक्ष छबि खतिवडा, उपाध्यक्ष बिजय तामाङ र सचिव कमल गैरेले एकसाथ राजीनामा दिएर बालेनको पक्षमा लागेको घोषणा गरेपछि युवा संघ नै पुनर्गठन गर्नुपरेको थियो । पछि पार्टीको दबाब थाम्न नसकेर सचिव गैरेले राजीनामा फिर्ता लिएका थिए । त्यसपछि झापा-५ का उम्मेदवार एमाले अध्यक्ष केपी शर्मा ओलीले युवा संघको दमक अध्यक्षसहितको नयाँ टिमलाई शपथ गराएका थिए । 

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका युवा नेता डेभिड शाहीले पनि पार्टीबाट राजीनामा दिएर बालेनलाई सहयोग गर्ने घोषणा गरेका छन् । शाही वाइसिएलका झापा र झापा क्षेत्र नं. ५ का अगुवा युवा नेता मानिन्छन् । रास्वपाका क्षेत्रीय सभापति भेषराज भट्टराईले अहिले झापा-५ मा रास्वपाका उम्मेदवार तथा पार्टीका वरिष्ठ नेता बालेनको पक्षमा काँग्रेस र एमालेका नेताहरु राजीनामा दिएर खुल्ला रुपमा आउने क्रम बढेको र अझै आन्तरिक रुपमा लाग्ने नेता कार्यकर्ता धेरै भएको दाबी गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK