Skip to content
LAXMI SUNRISE BANK

सुन्तला बेचेर २० लाख रुपैयाँ आम्दानी

अर्थ सरोकार

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ दोसल्लेका किसान विकास श्रेष्ठले यसवर्ष रु २० लाख मूल्य बराबरको सुन्तला बिक्री गरेका छन् । १५ रोपनी क्षेत्रफलमा व्यावसायिक सुन्तलाखेती गरेका श्रेष्ठले म्याग्दीमा सबैभन्दा पछाडि सुन्तला टिपेर बजार पठाउँदा सामान्य अवस्थाको तुलनामा दोब्बर बढी मूल्यमा बिक्री गरेका हुन् ।

श्रेष्ठले सञ्चालन गरेको अन्नपूर्ण फलफूल तथा तरकारी फार्मबाट प्रतिकिलोग्राम रु दुई सयका दरले काठमाडौँबाट आएका व्यापारीले सुन्तला खरिद गरेर लगेका हुन् । म्याग्दीमा पुस महिनामा प्रतिकिलो रु ७० का दरले सुन्तला बिक्री भएको थियो ।

‘माघ लागेदेखि बढ्न सुरु भएको सुन्तलाको मूल्य फागुन २ गतेसम्म प्रतिकिलो रु दुई सयसम्म परेको हो ।’, श्रेष्ठले भने, ‘गत वर्षको तुलनामा यसपाली उत्पादन ४० प्रतिशतले घटेपनि मूल्य राम्रो पाउँदा आम्दानीमा असर परेन् ।’ उनले गत वर्ष सरदर प्रतिकिलो रु एक सयका दरले रु १५ लाख मूल्य बराबरको सुन्तला बिक्री गरेका थिए ।

श्रेष्ठको बगैँचामा रहेका ७०० मध्ये हाल ३०० बोटमा यसपाली फल लागेको थियो । श्रेष्ठले आफ्नो बाहेक अन्य किसानको थप रु एक करोड ३० लाखको सुन्तला पनि बिक्रीको व्यवस्था मिलाएका छन् । दोसल्लेका ४२ घरपरिवार किसानले यसवर्ष रु दुई करोड मूल्य बराबरको सुन्तला बिक्री गरेका दोसल्ले सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेम पाइजाले जानकारी दिएका छन् ।

बेनीमा पोल्टी« र घरजग्गा व्यवसाय गर्दै आएका विकासले विसं २०७६ मा सोखका लागि गाउँमा घर बनाएर बस्नका लागि किनेको दोसल्ले गाउँको शिरमा रहेको जङ्गलछेउको भिरालो पाखोबारी अहिले हराभरा भएको छ । पाखोबारीलाई घेराबार गर्ने, गरा बनाउने, खाडल खनेर सुन्तलाका बिरुवा लगाउने, गोडमेल, मलजल गर्न, संरचना बनाउन र जग्गा खरिदसहित फार्ममा रु तीन करोड ५० लाख लगानी भएको श्रेष्ठले बताए । ‘कृषिबाट यति राम्रो कमाइ होला भनेर सोचेको थिइन्, गर्न सकेमा हुँदोरहेछ भन्ने मैले महसुस र अनुभव गरेँ ।’, उनले भने, ‘थप जमिन खरिद गरेर फार्म विस्तार गर्दैछु ।’

उनको फार्ममा तीन जनाले नियमित रोजगारी पाएका छन् । सुन्तलाखेतीसँगै उक्त फार्ममा लोकल र बोइलर जातका कुखुरा पनि पालिएको छ । सुन्तलाका लागि कुखुराको सुलीको मल उपयोगी हुने श्रेष्ठको अनुभव छ । कृषि फार्मका लागि सरकारी निकायबाट हालसम्म अनुदान नलिएको श्रेष्ठले बताएका छन् ।

काठमाडाँैको बल्खुका व्यापारीसँग सिधैँ सम्पर्क गरेर सुन्तला पठाउन थालेपछि उचित मूल्य पाएको र बजार सुनिश्चित भएको उनले बताएका छन् । घरजग्गा व्यापार छाडेर कृषि व्यवसायमा लागेका श्रेष्ठले बेनीमा दाना र चल्लाको व्यापार गर्ने जलेश्वर पोल्ट्री फर्म सञ्चालनको जिम्मा छोरा आदेशलाई जिम्मा लगाएका छन् । अवसर, सुविधा र रोजगारीका लागि विदेश र सहर पस्ने क्रम बढिरहेको अवस्थामा बजारबाट गाउँ गएर कृषि व्यवसाय गरेका श्रेष्ठ किसानका लागि उदाहरणको पात्र बन्नुभएको दोसल्लेका अगुवा किसान खगवीर पाइजाले बताए ।

‘उहाँ (विकास)ले बाँझिएको जग्गालाई सदुपयोग मात्र गर्नुभएको छैन ।’, पाइजाले भने, ‘गाउँमा सुन्तला खेतीका लागि नयाँ प्रविधि भित्र्याउनुभएको छ । उहाँको सिको गरेर बजार झरेका गाउँ फर्किएर सुन्तलाखेती गरेका छन् ।’

सुन्तला खेतीका लागि जग्गा किन्न आउनेहरु बढेका र खेतबारीको भाउ पनि बढेको पाइजाले बताए । विकासको सुन्तला बगँैचा अवलोकनका लागि बेनी र आसपासका ठाउँबाट किसान तथा व्यवसायी आउने गरेका छन् । उक्त बगैँचाबाट पृष्ठभूमिमा निलगिरि र धौलागिरि हिमाल देखिन्छ ।

बगैँचाकोबीच भागमा पाहुना र आफू बस्नका लागि घर बनाएका श्रेष्ठको फार्मलाई कृषि पर्यटनसँग जोड्ने योजना छ । समुन्द्री सतहदेखि एक हजार पाँच सय मिटर उचाइमा रहेको दोसल्लेका किसानले सुन्तला खेतीलाई मुख्य आयस्रोत बनाएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK