Skip to content
LAXMI SUNRISE BANK

ओलीको दाबी- ‘जहाँ उभियो, एमालेको विकास त्यहीँ देखिन्छ’

अर्थ सरोकार

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकास र समृद्धिको नेतृत्व एमाले बाहेक अरु कसैले गर्न नसक्ने दाबी गरेका छन् । झापामा आयोजित कोशी प्रदेश स्तरीय ‘नेशनल भोलेन्टियर फोर्स’ को कमिटी गठन तथा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो दाबी गरेका हुन् ।

अध्यक्ष ओलीले एमालेको विकास प्रेमी छवि रहेको कुरा आम नागरिकलाई जानकारी रहेको पनि बताएका छन् ।  

विपक्षीहरूको ‘भिजनविहीन’ राजनीतिले देश विकास हुन नसक्ने ओलीको भनाई छ । ओलीले नेशनल भोलेन्टियर फोर्स केवल निर्वाचनका लागि मात्र नभई देशमा शान्ति, सुव्यवस्था र लोकतन्त्रको रक्षाका लागि सँधै सक्रिय रहने एउटा अनुशासित दस्ता भएको स्पष्ट पारेका छन् ।

अध्यक्ष ओलीले विकासका सन्दर्भमा एमालेको रिपोर्ट कार्ड प्रस्तुत गर्दै विपक्षीहरूलाई चुनौती दिँदै भने, ‘एमालेले के गर्यो ? भनेर सोध्नेहरूले महाकाली वा दार्चुलाको उदाहरण हेर्नुपर्दैन । देशको जुनसुकै कुनामा उभिएर वरिपरि हेर्नुस्, एमालेले गरेको विकास देखिन्छ । जहाँ उभिनुभएको छ, त्यहीँबाट एमालेको विकास हाक्ने क्षमता प्रष्ट हुन्छ ।’

त्यस्तै, ओलीले दमक र झापाको उदाहरण दिँदै हिजो दमकमा पेट्रोम्याक्स बालेर कार्यक्रम गर्नुपर्ने स्थिति हुँदा अहिले घरघरमा बिजुली पुगेको दाबी गरेका छन् । उनले विगतमा चापाकलको रातो पानी खानुपर्ने अवस्थाबाट अहिले ट्याङ्कीको पानी खाने अवस्था आएकोले एमालेले विकास गरेन भन्ने कुरा झुठ भएको बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK