काठमाडौँ । काभ्रेपलाञ्चोकमा किसानले खेतबारीबाट आलु खनिरहेका छन् । उत्पादन बढे पनि आलु बिक्री गर्न बजार अभाव भएका कारण यहाँका किसान चिन्तित बनेका छन् ।
जिल्लामा प्रमुख रूपमा तरकारी उत्पादन हुने पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा अहिले किसान धमाधम आलु खनिरहेका छन् । खेतका गह्राभरि आलुका बोरा ठडिएका छन् । सडक छेउमा पनि आलुको चाङ लागेको देखिन्छ । तर किसान भने खुसी देखिएका छैनन् । बजार मूल्य खस्किँदो छ । खेतबारीमै पुग्ने व्यापारी पनि आउन छाडेका छन् ।
‘आलुको भाउ त घटेकै छ, तर व्यापारी पनि खेतबारीमा आउँदैनन्, व्यापारीलाई आफैँ बोलाएर आलु लैजान भन्नुपर्ने बाध्यता छ’, पाँचखाल नगरपालिका–६ ढुङ्गानाबेँसीका किसान रामेश्वर सापकोटाले भने । उनका अनुसार अहिले आलु प्रतिकिलो रु सातदेखि रु १० सम्ममा बिक्री भइरहेको छ ।
आलु सस्तोमा बिक्री गर्नुपर्दा किसान आलु ‘खन्ने या नखन्ने’ अलमलमा देखिन्छन् । ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ ।’ सापकोटाले भने । यस वर्ष आलुको मूल्य घटेकाले लागत उठ्न हम्मेहम्मे हुने अगुवा किसान सापकोटाले बताए । उनका अनुसार केही किसानले आफैँ काठमाडौँको कालीमाटीस्थित तरकारी बजार लैजाँदा आलु नबिकेकाले व्यापारीकै भाउमा छाडेर आउनुपरेको छ । यसकारण पनि किसानको लगानी जोखिममा परको छ ।
अन्य बालीको तुलनामा आलुखेतीमा लागत खर्च बढी हुने गर्दछ । जमिन तयारी, प्राङगारिक तथा रासायनिक मल, आलुको बीउ, सिँचाइ, औषधि तथा जनशक्ति खर्च हिसाब गर्दा प्रतिकिलो रु १८ देखि रु २० सम्म पर्छ । विगत वर्षमा यही समयमा प्रतिकिलो रु २८ देखि रु ३५ सम्ममा आलु बिक्री हुने गरेको थियो ।
‘छिप्पेको आलु नखन्दा खेतमै कुहिने डरले घाटा खाएरै भए पनि व्यापारीलाई प्रतिकिलो रु १० सम्ममा बेचियो, तर पैसा समयमै पाइने/नपाइने चिन्ताकै अवस्था छ’, स्थानीय विजय पराजुलीले भने ।
पाँचखाल नगर कृषि शाखाका अनुसार नगर क्षेत्रमा करिब ७० हजार रोपनी क्षेत्रफलमा आलुखेती गरिन्छ । शाखा प्रमुख हेमन्त पौडेलले पाँचखालमा वार्षिक करिब ९० हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन हुने गरेको जानकारी दिए । उनका अनुसार यस वर्ष बजार मूल्य घटेका कारण किसानले कुल लागत मूल्यको तुलनामा करिब रु ६३ करोड ७० लाखको हाराहारीमा आम्दानी गुमाउने आँकलन गरिएको छ । सरकारले कृषि उत्पादनको उचित मूल्य निर्धारण, भण्डारणको व्यवस्था, सरकारबाट बजार व्यवस्थापन तथा आलु प्रशोधन उद्योगको विकास गर्नसके किसानको समस्या हल हुनसक्ने स्थानीय दामोदर अधिकारीको भनाइ छ ।
मण्डनदेउपुर नगरमा किसान झरी, बादल, घाम नभनी धमाधम आलु खनिरहेका भेटिन्छन् । मण्डनदेउपुर–१० स्थित मण्डन फाँटका ८२ वर्षीय पशुपति श्रेष्ठले भने, ‘यस वर्ष आलु गत वर्षभन्दा झण्डै दोब्बरले फलेको पाइयो, तर भाउ भने घटिरहेको छ, किसानलाई दुखैदुःख छ ।’
ज्वानेटार फाँटमा विगत १० वर्षदेखि व्यावसायिक रूपमा आलुलगायत तरकारीखेती गर्ने किसानको सङ्ख्या बढिरहेको छ । उक्त फाँटमा यस सिजनमा दुई सय रोपनी जग्गामा आलु रोपिएको स्थानीय किसान नारायण श्रेष्ठले बताउनुभयो । उहाँले करिब १२ रोपनी जमिनमा आलु रोप्न थालेको पाँच वर्ष भइसक्यो ।
श्रेष्ठ भन्छन्, ‘गत वर्ष त्यही जग्गामा ६० बोरा जति आलु फल्यो, तर यो वर्ष भने १२० बोराभन्दा बढी फलेको छ, अहिले भाउ पोहोरको भन्दा तेब्बरले घट्यो ।’ यतिबेला मण्डनदेउपुरका ज्वाँनेटार, जोगिटार, माइटार, कुन्ताबेँसी तथा चाखोलाका हजारौँ रोपनी खेतबारीमा आलुखेती गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार काभ्रेपलाञ्चोकमा हरेक वर्ष नौ हजार १६३ हेक्टर जमिनमा वार्षिक एक लाख ८९ हजार ७८ मेट्रिक टन आलु उत्पादन हुन्छ । यहाँका किसानले उत्पादन गरेको तरकारीजन्य वस्तुमध्ये उपभोगलाई छुट्याएर सङ्घीय राजधानी काठमाडौँको बजारमा पुर्याउँदासमेत तरकारीको ३५ प्रतिशत हिस्सा काभ्रेपलाञ्चोकबाटै थेगिएको तथ्याङ्क छ । यसमध्ये आलुको मात्रा अग्रस्थानमा रहेको कार्यालय प्रमुख कुलप्रसाद दवाडीले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्