Skip to content
LAXMI SUNRISE BANK

मुस्ताङमा फेरि पर्यो हिउँ, कृषक र पर्यटन व्यवसायी उत्साहित

अर्थ सरोकार

काठमाडौँ । मुस्ताङमा पुनः हिमपात भएको छ । हिमपातसँगै कृषक तथा पर्यटन व्यवसायी उत्साहित बनेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, ठिनी लगायत जिल्लाका विभिन्न क्षेत्रमा हिमपात भएको हो । विशेषगरी मुक्तिनाथ क्षेत्र, ठिनी भ्यु टावर आसपास तथा उपल्लो मुस्ताङका क्षेत्रमा हिउँ अझै जमेको जनाइएको छ ।

हिमपातसँगै मुस्ताङमा हिउँ खेल्न आउने पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको जोमसोमका पर्यटन व्यवसायी निशान तुलाचनले बताए । उनका अनुसार हिमपातपछि मुस्ताङ आउने आन्तरिक पर्यटकको चहलपहल बढ्ने गर्दछ ।

यस वर्ष मुस्ताङमा चौथो पटक हिमपात भएको हो । हिमपात र वर्षाले चिसो बढाए पनि कृषकहरू भने खुसी देखिएका छन् । वर्षा तथा हिमपातले खेतबारीमा प्राकृतिक सिँचाइ हुने, जमिनमा राखिएको मल भिजेर बिरुवालाई आवश्यक पोषक तत्व उपलब्ध हुने भएकाले खेतीपातीका लागि फाइदा पुग्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-५ का वडा अध्यक्ष सुरेन्द्र गुरुङले बताए ।

स्थानीय कृषक पाल्चाङ्ग गुरुङ्गका अनुसार हिमपातपछि हिउँ पग्लिएर खेतबारीमा पुगेपछि मल राम्रोसँग घुल्ने र त्यसले बोटबिरुवाको वृद्धि तथा उत्पादन बढाउन मद्दत पुग्छ । यसले आगामी बाली उत्पादनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

घरपझोङ गाउँपालिका कृषि विकास शाखा प्रमुख रोशन थकालीका अनुसार स्याउको मुना फुट्नका लागि आवश्यक माइनस तापक्रम चाहिने भएकाले यसपटकको हिमपात स्याउ खेतीका लागि लाभदायक हुने अपेक्षा गरिएको छ । मुस्ताङमा स्याउ, जौ, गहुँ, उवा र फापर प्रमुख बालीका रूपमा लगाइन्छ । यस वर्षको हिमपातले ती बालीको उत्पादनमा सकारात्मक प्रभाव पर्ने कृषकहरूको विश्वास छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK