Skip to content
LAXMI SUNRISE BANK

कक्षाभरी झुसिल्किराः शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

अर्थ सरोकार

काठमाडौँ । गोरखा जिल्ला बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका शिक्षक र विद्यार्थी झुसिल्किराका कारण हैरान भएका छन् । कक्षाभरि झुसिल्किरा भइँ दिँदा पठनपाठन प्रभावित भएको छ ।

विद्यालयको वरिपरि उतिसको जङ्गल छ । सुक्खा मौसम लागेपछि बिगत एक महिनायता उतिसमा लागेको झुसिल्किरा कक्षा कोठामा आएर बस्न थालेका छन् ।  ‘भन्दा सानो कुरा जस्तो लाग्छ, तर वरिपरिको उतिसको जङ्गलबाट आएको झुसिल्किराले कक्षाको भुइँ, डेक्स, बेञ्च, जस्ताको छानो, भित्ता कतै खालि छैन ।’ शिक्षिका पवित्रा तामाङले भनिन् ।

माघको अन्तिम सातादेखि झुसिल्किरा लागेर शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान भएका छन् । उनीहरुको जीउभरी डाबर उठेको छ । सबैले एलर्जीको औषधी खाँदैआएका छन् । ‘रातभरि कन्याएर सुत्न सकिँदैन । विद्यार्थीको बिजोग छ’, शिक्षिका तामाङले भनिन् । झुसिल्किराको झुस बिझेर बालबालिकाले जीउभरी तेल घसेर आउने गरेको उनले बताइन् ।

कक्षा १ देखि ३ सम्म पढ्ने विद्यार्थीका लागि ओछ्याएको कार्पेट झुसिल्किराले ढाकेपछि कक्षाकोठाबाट हटाइएको शिक्षिका तामाङको भनाइ छ । विद्यार्थीलाई पुस्तकालयमा लगेर राखिएको उनले बताईंन् । ‘हावाहुरी चल्न थालेपछि झुस उडेर आँखामा पर्ने डर रहन्छ’, उनले भनिन्, ‘समस्या समाधान गरिदिन शिक्षा शाखा र गाउँपालिकाका जनप्रतिनिधिलाई गुनासो गरेका थियौँ । विषादी प्रयोग गर्न हुँदैन भन्ने सुझाव पायौँ । अवस्था उस्तै छ ।’

विद्यालयको समस्याबारे गत फागुन २६ गते बसेको कार्यपालिका बैठकमा कुरा राखेको वडाध्यक्ष बलबहादुर गुरुङले बताए । ‘हामीले वरिपरिको रुख ढालेर समस्या समाधान हुन्छ कि भन्ने सोचेर तीनवटा रुख ढाल्यौँ तर त्यसो गर्दा जङ्गलको झुसिल्किरा झन विद्यालयमा आउँदो रहेछ’, उनले भने, ‘समस्या घट्लाभन्दा झन बढ्यो । गाउँपालिकाले विषादी प्रयोग गर्नुहुन्न भनेर प्रयोग गर्न दिएन ।’ समस्या ज्यूँकात्यूँ रहेको वडाध्यक्ष गुरुङले भने । केही दिनयता पानी परेकाले झुस उड्ने समस्या भने केही कम भएको शिक्षिका तामाङको भनाइ छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK