Skip to content
LAXMI SUNRISE BANK

आर्थिक सूचक सन्तोषजनक रहेको गभर्नर पौडेलको दाबी

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकका आर्थिक सूचकहरु सन्तोषजनक रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान आर्थिक सूचकहरु सन्तोषजनक रहेको बताएका हुन् । 

उनका अनुसार उपभोक्ता मुद्रास्फीति मौद्रिक नीतिको लक्ष्यको सीमाभित्रै छ । आर्थिक वर्ष २०८२/८३ को ८ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति २.१ प्रतिशत छ । जुन अघिल्लो वर्ष ४.७ प्रतिशत थियो । शोधनान्तर स्थितिः शोधनान्तर बचत थप सुदृढ हुँदै गएको छ । वित्तीय प्रणालीतर्फ निक्षेप र कर्जा बीचको भारित औसत ब्याजदर अन्तर न्यूनतम बिन्दुमा छ, जसले निजी क्षेत्र र सरकारलाई सस्तो ब्याजदरमा वित्तीय साधन परिचालन गर्ने अवसर दिएको छ । 

आर्थिक वृद्धितर्फ राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा कुल गार्हस्थ्य उत्पादन ४.१ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान गरिएको छ । उनले नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार बैंकले मौद्रिक, बैंकिङ्ग र विदेशी विनिमय नीतिहरू समयानुकूल परिमार्जन गर्दै लगेको बताए ।

मौद्रिक नीतिलाई थप तथ्यपरक र ‘फरवार्ड लुकिङ’ बनाउन बैंकले ‘म्याक्रोइकोनोमिक रिपोर्ट’ प्रकाशन सुरु गरेको र ब्याजदर करिडोरमार्फत कार्यान्वयनलाई पारदर्शी बनाइएको गभर्नर पौडेलको भनाई छ । 

उनले चुनाव पछि स्पष्ट जनादेश आएको बताउँदै अब मुलुकमा स्थायित्व कायम रहनेमा विश्वास समेत व्यक्त गरेका छन् । ‘फागुन २१ मा सम्पन्न निर्वाचनमार्फत मुलुकमा एकल दलको स्पष्ट बहुमत सहितको सरकार बनेको छ । यसबाट राजनीतिक, नीतिगत तथा प्रशासकीय स्थिरता कायम भई मुलुकले समृद्धितर्फ प्रगति हासिल गर्ने विश्वास लिइएको छ ।’, उनले भने, ‘हाल उपभोक्ता मुद्रास्फीति मौद्रिक नीतिको लक्ष्यको सीमाभित्रै रहेको छ ।’

त्यस्तै, गभर्नर पौडेलले अन्तराष्ट्रिय मुद्रा कोषको प्रक्षेपणतर्फ लक्षित गर्दै विश्व अर्थतन्त्रमा केही सुस्तता आउन सक्ने बताएका छन् । विश्व अर्थतन्त्र सन् २०२६ मा ३.१ प्रतिशत र २०२७ मा ३.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ । पश्चिम एशियाको भू-राजनीतिक तनाव, इन्धनको मूल्य वृद्धि र आपूर्ति श्रृङ्खलामा परेको अवरोधले नेपालको कृषि, पर्यटन र उद्योग क्षेत्रमा नकारात्मक प्रभाव पार्न सक्ने जोखिम रहेको उनको भनाइ छ । यसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा वित्तीय स्थायित्वमा असर पार्न सक्नेतर्फ उनले सचेत गराएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK