काठमाडौँ । नेपाल सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा तयार पारेर सार्वजनिक गरेको छ । राष्ट्रिय मान्यताप्राप्त छ वटा राजनीतिक दलका घोषणापत्र एवं चुनावका समयमा सार्वजनिक गरेका वाचापत्रहरूको अध्ययन गरी सरकारले तयार पारेको १८ बुँदे यो ‘राष्ट्रिय प्रतिबद्धता’ पत्रको मस्यौदा हो ।
यसलाई राय तथा सुझावका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेभसाइटमा राखिएको छ । सो मस्यौदामाथि सम्बन्धित राजनीतिक दलहरूबाट यही वैशाख १० गतेभित्र राय सुझाव माग गरिएको छ ।
सो वेभसाइटमा राखिएको सूचनामा भनिएको छ ‘सम्वत २०८२ फागुन २१ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त गरेका छ वटा राजनीतिक दलहरूका घोषणापत्र/वाचापत्र/प्रतिबद्धतापत्रका आधारमा तयार ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा उपर सम्बन्धित राजनीतिक दलहरूबाट सम्वत् २०८३ वैशाख १० गते भित्र राय सुझाव माग गरिएको ।’
सरकारले चैत १३ गते पहिलो मन्त्रिपरिषद्को बैठकबाट शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची सार्वजनिक गरेको थियो । सोे कार्यसूचीको बुँदा नम्बर ३ मा भएको व्यवस्था बमोजिम सरकारले यो राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको हो ।
कार्यसूचीको बुँदा नम्बर ३ मा भनिएको छ, ‘नेपालको संविधानको मूल मर्म, लोकतान्त्रिक प्रणालीको सुदृढीकरण तथा निर्वाचनमार्फत व्यक्त जनादेशलाई संस्थागत रूपले कार्यान्वयन गर्न निर्वाचनमा सहभागी सबै राजनीतिक दलका घोषणापत्र, वाचापत्र तथा प्रतिबद्धतापत्रहरूमा समावेश कार्यान्वयन योग्य विषयहरूको संश्लेषण गरी राष्ट्रिय प्रतिबद्धता तयार गर्ने एवं सोमा नेपाल सरकारको साझा स्वामित्व स्थापित गर्ने । उक्त प्रतिबद्धतालाई वार्षिक नीति तथा कार्यक्रम, बजेट तथा सुधार एजेन्डासँग आबद्ध गरी तत्कालैदेखि कार्यान्वयन गर्न तत्काल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत आवश्यक संरचना स्थापना गरी जिम्मेवारी दिने ।’
सरकारले सार्वजनिक गरेको यो राष्ट्रिय प्रतिबद्धताको मस्यौदामा गत फागुन २१ को निर्वाचनबाट राष्ट्रिय मान्यताप्राप्त दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावका समयमा घोषणा गरेका घोषणापत्र या वाचापत्रहरू समेटिएको छ ।
सरकारद्वारा सार्वजनिक यस राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा रहने गरी एक सरकारी संरचना तयार पारिएको उल्लेख गरिएको छ ।
यस राष्ट्रिय प्रतिबद्धतामा रहेका मुख्य प्राथमिकताका क्षेत्रहरूमा, आर्थिक क्षेत्रमा स्थायित्व र सुधार, कृषि पेशाको सम्मान र आत्मनिर्भरता, पर्यटन तथा नागरिक उड्डयन, ऊर्जा विकास तथा उपयोग, खानी तथा खनिज, पूर्वाधार विकास, समृद्धिको आधार रोजगारी, शिक्षा तथा स्वास्थ्य, वन, वातावरण तथा जलवायु परिवर्तन आदि रहेका छन् ।
त्यसैगरी सो प्रतिबद्धतामा सुशासन तथा भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार तथा सेवा प्रवाह, विद्युतीय सुशासन तथा प्रविधि, सामाजिक न्याय तथा समावेशीकरण, अन्तर्राष्ट्रिय कूटनीति तथा परराष्ट्र सम्बन्ध, नेपाली डायस्पोराको ज्ञान, सीप र पुँजीको उपयोग, खेलकुद, विपद् व्यवस्थापन, सहकारी तथा लघुवित्त आदि रहेका छन् ।
राय सुझावका लागि सार्वजनिक गरिएको यो मस्यौदा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालायको वेभसाइटमा उपलब्ध छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्