Skip to content
LAXMI SUNRISE BANK

हंस बहुउद्देश्यीय सहकारीद्वारा सेवा केन्द्र स्तरीय हाजिरजवाफ प्रतियोगिता सम्पन्न 

अर्थ सरोकार

काठमाडौँ । भरतपुर-१  शहीदचोकमा केन्द्रीय कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले नयाँ वर्ष २०८३ को अवसर पारेर सेवाकेन्द्र स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । संस्थाको शिक्षा उपसमितिको संयोजनमा मंगलबार नारायणगढस्थित होटल गंगोत्रीको सभाहलमा आयोजित सो कार्यक्रममा सेयर सदस्यहरूबीच सहकारी शिक्षा तथा समसामयिक विषयमा प्रतिस्पर्धा गराइएको थियो ।

चितवन जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेडका अध्यक्ष भिष्म प्रसाद खनालको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतियोगितामा प्रधान कार्यालय अन्तर्गतको समूह प्रथम हुन सफल भएको छ । प्रथम हुने समूहमा कुल प्रसाद सुबेदी, लेखराम सापकोटा, सबिता भुषाल, बशन्त राज अधिकारी र मंगलराज सिलवाल रहेका थिए । त्यसैगरी, विजयनगर सेवाकेन्द्र अन्तर्गतको समूह दोस्रो स्थान हासिल गर्न सफल भयो । जसमा सरस्वती शर्मा, मिना परियार, लक्ष्मी पौडेल र शिवचन कार्की सहभागी रहेका थिए । विजयी समूहहरूलाई क्रमशः १० हजार र ६ हजार नगद रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि भिष्म प्रसाद खनालले चितवनका स्थापित सहकारीहरूमा कुनै समस्या नरहेको स्पष्ट पारे । यद्यपि, वर्तमान कानुनी जटिलताका कारण बहुउद्देश्यीय सहकारीहरूलाई कारोबारमा केही असहजता महसुस भइरहेको उल्लेख गर्दै उनले नीतिगत सुधारको आवश्यकता औंल्याए ।

सभाध्यक्ष तथा संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले सेयर सदस्यहरूको चौतर्फी हित र क्षमता विकासका लागि संस्थाले यस्ता रचनात्मक कार्यक्रम आयोजना गर्दै आएको बताए । उनले सदस्यहरूलाई सहकारीको मर्म बुझाउन र आगामी दिनमा संस्थालाई अझ प्रविधिमैत्री र सदस्यकेन्द्रित बनाउने भावी योजनाहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रमको औचित्य र महत्त्वमाथि प्रकाश पार्दै शिक्षा उपसमितिका संयोजक देशबन्धु अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा लेखा समितिका संयोजक गोबिन्द प्रसाद पौडेल, संचालक समिति सदस्य प्रा. डा. होमनाथ सापकोटा, सेयर सदस्यहरू लेखाराम सापकोटा र कुल प्रसाद सुवेदी लगायतले सहकारीको भूमिकाबारे चर्चा गरेका थिए ।

संस्थाका प्रबन्धक नारायण प्रसाद सापकोटा र शिक्षा उपसमिति सदस्य नेत्रबन्धु पोखरेलले कार्यक्रम सञ्चालन गरेको सो प्रतियोगिताले सदस्यहरूमा सहकारी शिक्षाको सान्दर्भिकतालाई थप उजागर गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK