Skip to content
LAXMI SUNRISE BANK

गृहमन्त्रीका ७ दिनः ७ ‘हाई प्रोफाइल’ समातिए

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुदन गुरुङ गृहमन्त्री बनेको एक साता पुगेको छ । गृहमन्त्रीमा गुरुङको एक साता बित्दा ७ जना ‘हाई प्रोफाइल’ पक्राउ परेका छन् ।

चैत १३ गते गृहमन्त्री नियुक्त भएका गुरुङले सोही दिन गृहमन्त्रीका रुपमा शपथ लिएर पदभार ग्रहण गरेका थिए । गुरुङले गृहमन्त्रीको जिम्मेवारी सम्हालेको भोलिपल्ट (चैत १४ गते) पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परे ।

सोही दिन प्रहरीले पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गर्यो । उनीहरुलाई पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनबारे छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान गर्न पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

सोही दिन प्रहरीले नेकपा एमालेका नेता कर्ण बहादुर मल्ल पनि पक्राउ परे । उनलाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

तीन जना ‘हाई प्रोफाइल’ पक्राउ परेपछि देशभर एमालेले आन्दोलनको घोषणा गर्यो । तर, त्यसको भोलिपल्ट अर्थात भदौ १५ गते पूर्व उर्जामन्त्री दीपक खड्का पक्राउ परे । उनलाई सीआईबीले पक्राउ गरेको हो । निवासबाट बरामद भएको रकमको अनुसन्धानका लागि खड्कालाई पक्राउ गरिएको बताइएको छ । 

यता सोही दिन एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पनि पक्राउ परिन् । उनलाई बालश्रम शोषण गरेको आरोपमा पक्राउ गरिएको हो । उनीमाथि ६ वर्षदेखि एक बालिकामाथि श्रम शोषण गरेको र कुटपिट गरेको आरोप छ ।

त्यस्तै, चैत १७ गते प्रहरीले काठमाडौँका सिडिओ छविलाल रिजाललाई पनि पक्राउ गर्यो । उनलाई पनि कार्की आयोगको प्रतिवेदनका आधारमा पक्राउ गरिएको हो । यद्यपि उनी सरकारी वकिल कार्यालयबाट हाजिरी जमानीमा रिहा भएका छन् ।

यता चैत १९ गते व्यवसायी दीपक भट्ट पनि पक्राउ परे । उनलाई सीआईबीले सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ गरेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK