काठमाडौँ। कता हरायो एक रुपैयाँ ? यो प्रश्न साधारण जस्तो देखिए पनि यसभित्र समयको परिवर्तन, आर्थिक अवस्था र हाम्रो जीवनशैलीको ठूलो कथा लुकेको छ। एक रुपैयाँको नोट र सिक्का त्यस्तो वस्तु हो जसलाई बनाउन एक रुपैयाँभन्दा बढी खर्च लाग्ने गर्छ । त्यही भएर पनि नेपाल राष्ट्र बैंकले एक रुपैयाँको नोट नै बनाउन छाडिसकेको धेरै भइसकेको छ ।
नेपालमा कागजी नोट औपचारिक रूपमा नेपाल राष्ट्र बैंक स्थापना भएपछि जारी हुन थालेको हो। विशेषगरी १ रुपैयाँको नोट नेपालमा सन् १९६० को दशक ( करिब वि.सं. २०१७ – २०१८) देखि प्रचलनमा आएको मानिन्छ। यसअघि नेपालमा सिक्का पैसाको प्रयोग बढी हुने गर्थ्यो। त्यसैले, १ रुपैयाँको नोट नेपालमा औपचारिक रूपमा नेपाल राष्ट्र बैंकद्वारा १९६० दशकदेखि जारी भएर चलनमा आएको हो।
एक समय थियो, जब एक रुपैयाँले पनि धेरै मूल्य राख्थ्यो। त्यो सानो सिक्काले बालबालिकाको अनुहारमा मुस्कान ल्याउँथ्यो, साथीहरूसँग खाने कुरा बाँडेर खाने खुशी दिन्थ्यो र दिनको सानो रमाइलो क्षण सिर्जना गर्थ्यो। एक रुपैयाँको सिक्का हातमा लिएर पसलतिर कुद्ने त्यो उत्साह, पसले दिदीको माया र मिठो बोली, अनि आफूले रोजेको चकलेट वा चाउचाउ पाउँदा हुने सन्तुष्टि, यी सबै कुरा आजका दिनमा सम्झिँदा पनि मन एकदम आनन्दित हुने गर्छ।
कुनै जमाना थियो, स्कुल जाने बाटोमा सानो पसल देख्नेबित्तिकै एक रुपैयाँको महत्व झन् बढ्थ्यो। त्यही एक रुपैयाँले पल्लाघरे साइली दिदीको पसलमा एक रुपैयाँको चार वटा ल्याक्टो चकलेट, एक रुपैयाँ पर्ने चाउचाउ, बिस्कुट यतिसम्मकी लेख्ने कपी पनि किन्न सकिन्थ्यो। पसले दिदीले पनि सानो सिक्कालाई सम्मानका साथ लिँदै ‘के चाहियो ?’ भनेर सोध्नुहुन्थ्यो ? त्यो समयको सरलता र सन्तुष्टि अहिले सम्झिँदा पनि मन आनन्दित हुने गर्छ।
तर बिस्तारै समय बदलिँदै गयो। बजारमा महँगी बढ्न थाल्यो। जसले गर्दा पहिले एक रुपैयाँमा पाइने सामानहरू आज दुई रुपैयाँ, पाँच रुपैयाँ हुँदै अझ महँगो हुँदै गए। अहिलेको अवस्थामा एक रुपैयाँको सिक्का हातमा हुँदा पनि त्यसले खासै केही किन्न सकिँदैन। कतिपय पसलहरूले त एक रुपैयाँ लिनै छाडेका छन्, किनकि त्यसको व्यवहारिक प्रयोग कम भइसकेको छ। पहिले बाटोमा एक रुपैयाँ पायौ भने संसार पाए जस्तो लाग्थ्यो तर आज भोलि १ रुपैयाँ देख्यौ भने पनि बेवास्था गरेर हिड्ने गर्छौ।
अब कुरा गरौँ शहरको
शहरहरूमा त झन् एक रुपैयाँ हराएको जस्तै लाग्छ। बसको भाडा, चिया, नास्ता वा अन्य कुनै पनि दैनिक आवश्यक वस्तु सबैको मूल्य धेरै बढिसकेको छ। एक रुपैयाँ केवल छुट्टा रकमको रूपमा मात्र प्रयोग हुने जस्तो भएको छ। कहिलेकाहीँ बैंक वा पसलमा मात्र देखिन्छ, त्यो पनि खासै प्रयोगमा नआउने गरी, तर गाउँघरमा भने अझै केही हदसम्म एक रुपैयाँको अस्तित्व बाँकी नै छ। कुनै पसलहरूमा वा मेलामा कहिलेकाहीँ सानो मिठाईहरू एक रुपैयाँमा पाइन्छ । तर त्यो पनि हराउँदै गएको छ। किन्दा एक रुपैयाँको मात्र दिनु भनेर किन्दैनौ हामीले, गोटाको एक रुपैयाँ परेपनि किन्दा ५ रुपैयाँमाथि कै दिनु भनेर किन्ने गर्छौ। किनकि हामीलाई लाज लाग्छ।
सुन्दा मन खिन्न हुन सक्छ तर आजका नयाँ पुस्ताले त एक रुपैयाँको वास्तविक मूल्य नै बुझ्न पाउँदैन, किनकि उनीहरूको दैनिक जीवनमा त्यो रकमको महत्व कम भइसकेको छ। ‘कता हरायो एक रुपैयाँ’ भन्ने प्रश्नले केवल पैसाको कुरा मात्र गर्दैन, यसले हाम्रो बाल्यकाल, हाम्रो संस्कार र हाम्रो सन्तुष्टिको स्तरबारे पनि सोच्न बाध्य बनाउँछ। पहिले सानो कुरामा पनि खुशी पाइन्थ्यो, तर अहिले धेरै पैसा खर्च गर्दा पनि त्यति सन्तुष्टि मिल्दैन। यसले देखाउँछ कि खुशी केवल पैसामा निर्भर हुँदैन, बरु हाम्रो सोच र जीवनशैलीमा निर्भर हुन्छ।
एक रुपैयाँ हराउँदै गएको मूल्यले महँगीको प्रभाव पनि देखाउँछ। जब सानो रकमले कुनै वस्तु किन्न सकिँदैन, त्यो अर्थतन्त्रको परिवर्तन पनि हो। यसले हामीलाई बचत, खर्च, र आर्थिक योजना बनाउने तरिकाबारे सोच्न प्रेरित पनि गरेको छ।
आजभोलि डिजिटल भुक्तानी, मोबाइल बैंकिङ र अनलाइन कारोबारको युगमा, साना सिक्काहरूको प्रयोग झन् घट्दै गएको छ। मानिसहरू नगद भन्दा डिजिटल माध्यममा बढी निर्भर भएका छन्। यसले पनि एक रुपैयाँ जस्ता साना रकमलाई झन् ओझेलमा पारिरहेको छ। तर, यति सबै परिवर्तनका बीच पनि, एक रुपैयाँको भावनात्मक मूल्य भने कहिल्यै हराउँदैन। त्यो हाम्रो स्मृतिमा, हाम्रो अनुभवमा र हाम्रो बाल्यकालको कथामा सधैं जीवित रहन्छ। जब हामी पुराना दिनहरू सम्झन्छौं, त्यो एक रुपैयाँको सानो सिक्का ठूलो सम्झनाको हिस्सा बनेर आउँछ।
त्यसैले, ‘कता हरायो एक रुपैयाँ’ भन्ने प्रश्नको उत्तर केवल बजारमा खोजेर पाइँदैन। त्यो हाम्रो मनमा, हाम्रो सम्झनामा र हाम्रो अनुभवमा लुकेको छ। समयसँगै यसको भौतिक मूल्य घटे पनि यसको भावनात्मक मूल्य भने सधैं उच्च नै रहनेछ। पहिले जुन सिक्काले खुशी किन्न सकिन्थ्यो, आज त्यही सिक्का सायद कसैसँग छैन होला, अहिले सबै कुरा छिटो छ, ठूला नोट र डिजिटल पैसाले जीवन सजिलो बनाएको छ, तर त्यो सानो सिक्कामा लुकेको अपनत्व र खुशी कतै हराएजस्तो लाग्छ। समयसँगै हामी बदलियौँ, चाहना बढे, आवश्यकता बढे, तर मनको त्यो सानो खुशी खोज्ने बानी भने कतै छुट्दै गएको छ ।
तर, एक रुपैयाँको मूल्य घटे पनि, त्यसले बोकेको सम्झना र भावना कहिल्यै मानिसहरूको मनमा सानो भएको छैन। कहिलेकाहीँ ती पुराना दिनहरू सम्झिँदा लाग्छ, साँचो धनी त हामी त्यतिबेला थियौँ, जब सानो कुरामा हामीले ठूलो खुशी भेट्थ्यौ।
एक रुपैयाँको महत्व बुझौँ
अब सुनौ, यदि एक जना व्यक्तिको गाडी चडेको भाडा ३३ रुपैयाँ भयो, सो व्यक्तिले पनि ३५ रुपैयाँ दिए, नियमअनुसार २ रुपैयाँ फिर्ता दिनुपर्ने हो । तर, व्यवहारमा धेरैजसो अवस्थामा साना सिक्काको अभाव, हतार, वा ‘छोडिदिऊँ’ भन्ने सोचका कारण त्यो २ रुपैयाँ फिर्ता दिइँदैन। कहिलेकाहीँ यात्रु आफैं पनि माग्दैनन्। किन माग्दैनन् यो त पक्कै पनि तपाईंहरूलाई थाहा भइसकेको विषय हो।
१ रुपैयाँ पनि पैसा नै हो, सोच्नु होस् त यदि तपाईंले एक जना व्यक्तिलाई १००० रुपैयाँ दिनु पर्नेछ, तर तपाईंको मोबाइल बैंकिङमा ९ सय ९९ सय रुपैयाँ मात्र छ, त्यो १ रुपैयाँको अभावले तपाईंको पूरा काम रोकिन्छ, अब के गर्नु हुन्छ ? एक रुपैयाँको महत्तो तपाईंलाई त्यति बेला पक्कै पनि हुनेछ। एक एक रुपैयाँ संकलन हुँदै लाख बन्ने हो, यदि सबैले आफ्नो सानो रकमप्रति पनि सचेत भए भने, यस्तो ‘हराउने पैसा’ को समस्या कम हुन सक्छ। यो केवल १ रुपैयाँको कुरा होइन, यो हाम्रो व्यवहार र सोचको पनि कुरा हो। भिडियोसहित:
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्