Skip to content
LAXMI SUNRISE BANK

१० प्रतिशतले बढ्यो सुदूरपश्चिम प्रदेशको गरिबी दर, अछाम सबैभन्दा बढी गरिब

अर्थ सरोकार

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले चिन्ता व्यक्त गरेको छ । दोस्रो पञ्चवर्षीय योजनालाई अन्तिम रूप दिने चरणमा रहेको प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को तुलनामा चालु आवमा गरिबी बढेको बताएको हो ।

प्रदेश नीति तथा योजना आयोगले अहिले सुदूरपश्चिमका विभिन्न स्थानीय तहमा पुगेर दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदामाथि छलफल गरिरहेको छ ।

आव २०७७/७८ मा पहिलो पञ्चवर्षीय योजना बनाउँदा सुदूरपश्चिमको गरिबी २४. ६ प्रतिशत रहेकामा त्यो बढेर ३४. १६ पुगेको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा निर्माणका विज्ञ सदस्य डा हेमराज लामिछानेले बताए । अछाममा सबैभन्दा बढी गरिबी ४९. ५८ प्रतिशत छ ।

रोजगारी सृजना र सीप विकास, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा पहुँच, कृषि र ग्रामीण अर्थतन्त्रको सुदृढीकरण, सामाजिक सुरक्षा र लक्षित कार्यक्रम र सुशासन र प्रभावकारी कार्यान्वयनलाई दोस्रो योजनाले जोड दिएको उनले बताए ।

‘यो योजनामा आत्मनिर्भर समुन्नत सुन्दर सुदूरपश्चिम दीर्घकालीन सोचका साथ योजना तयार पारिएको छ । उत्पादन र उत्पादकत्व वृद्धि गरी गरिबी निवारण, रोजगारी सृजना तथा आयस्तरमा सुधार गर्नु दोस्रो पञ्चवर्षीय योजनाको उद्देश्य छ’, विज्ञ सदस्य लामिछानेले भने, ‘गुणस्तरीय, सहज र दिगो पूर्वाधार विकास, स्वस्थ, सक्षम र सम्मानजनक जीवनयापन सुनिश्चित गर्ने उद्देश्य छ ।’

प्रदेश सरकारले जलवायु अनुकूलन, जैविक विविधताको संरक्षण, संवर्द्धन र प्राकृतिक स्रोतको दिगो उपयोग, सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउनुका साथै विपद् जोखिम न्यूनीकरण र प्रविधिमैत्री प्रदेशको विकासलाई योजनामा समेटेको छ । कृषि, पशुपालन, साना उद्योग र पर्यटनको विकासबाट स्थानीयको आयस्तर सुधार गर्ने योजनालाई प्राथमिकतामा राखिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK