Skip to content
LAXMI SUNRISE BANK

एकै दिन सेयर मूल्य १५ प्रतिशतसम्म घटबढ हुनसक्ने !

अर्थ सरोकार

काठमाडौँ । अब सेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुन सक्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ‘धितोपत्र कारोबार सञ्चालन (चौँथो संशोधन) विनियमावली, २०८२’ स्वीकृत भएसँगै नेप्सेले यो नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो ।

सोमबारदेखि लागू हुन लागेको नयाँ व्यवस्थाअनुसार अब सूचीकृत कम्पनीहरूको सेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुन सक्नेछ । यसअघि यस्तो सीमा १० प्रतिशत मात्र रहेको थियो । बजारलाई थप चलायमान बनाउन र मूल्य निर्धारण प्रक्रियालाई यथार्थपरक बनाउन यो सीमा बढाइएको नेप्सेले जनाएको छ । 

नयाँ नीतिअनुसार बजार खुल्नुअघिको प्रि-ओपन सेसनको मूल्य सीमामा पनि परिवर्तन गरिएको छ । यसअघि २ प्रतिशत रहेको यस्तो सीमालाई बढाएर ५ प्रतिशत कायम गरिएको छ । यसले बजार खुल्ने बित्तिकै हुने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, नेप्से परिसूचक (इन्डेक्स) मा आधारित सर्किट ब्रेकर प्रणालीलाई पनि सरलीकृत गरिएको छ । अब तीन तहको सट्टा दुई तहको मात्र सर्किट ब्रेकर रहनेछ । कारोबार सुरु भएको दुई घण्टाभित्र बजार सूचक ५ प्रतिशतले घटबढ भएमा १५ मिनेटका लागि कारोबार रोकिनेछ । यदि सूचक ८ प्रतिशतले घटबढ भएमा उक्त दिनको सम्पूर्ण कारोबार बन्द गरिनेछ । यसअघि ४/५ र ६ प्रतिशतको तीन तहको जटिल सर्किट प्रणाली रहेको थियो । नयाँ व्यवस्थाले बजारको अवरोध कम गरी कारोबारलाई सहज बनाउने लक्ष्य लिएको छ ।

त्यस्तै, नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रियालाई थप पारदर्शी र विश्वसनीय बनाउन नयाँ व्यवस्था लागू गरेको छ । आईपीओका लागि पेस भएका कम्पनीहरुको विवरणको पुनरावलोकन गर्ने सम्बन्धी मापदण्ड बोर्डले परिमार्जन गर्दै वैशाख १ देखि लागू गरेको हो । नयाँ व्यवस्थाअनुसार अब आईपीओका लागि आवेदन दिने कम्पनीहरूको वित्तीय अवस्था र मापदण्डको जाँच लेखा विशेषज्ञबाट अनिवार्य पुनरावलोकन गराइनेछ । 

मापदण्डअनुसार धितोपत्र बोर्डले कम्पनीहरूको पछिल्लो तीन वर्षको लेखापरीक्षण भएको विवरण जाँचबुझ गर्नेछ । कम्पनीको कुल बिक्रीको ७५ प्रतिशतभन्दा बढी रकम उठ्न बाँकी देखिएमा पुनरावलोकन गरिनेछ । उत्पादनमूलक क्षेत्रमा पनि ७५ प्रतिशत र होटल तथा पर्यटन क्षेत्रमा ५० प्रतिशतभन्दा बढी प्राप्य रकम भएमा यो नियम लागू हुनेछ । बोर्डले विभिन्न क्षेत्रका लागि छुट्टाछुट्टै वित्तीय सूचकहरू पनि तय गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK