Skip to content
LAXMI SUNRISE BANK

प्रतिभा नक्षत्रको ७औँ संस्करण अगस्टमा हुँदै, विश्वभरका प्रतिभा र संस्कृतिको भव्य उत्सव हुने

अर्थ सरोकार

काठमाडौँ । प्रवासी नेपाली समुदाय तथा अन्तराष्ट्रिय सांस्कृतिक मञ्चलाई लक्षित गर्दै ‘प्रतिभा नक्षत्र-सातौँ संस्करण’ आगामी १६ अगस्ट २०२६ मा लण्डनस्थित Plumstead Common (Manor School नजिक, SE18 1JU) मा आयोजना हुने भएको छ । आयोजकका अनुसार यो कार्यक्रमले विश्वभरका प्रतिभाहरूलाई एउटै मञ्चमा ल्याई सांस्कृतिक आदान–प्रदानलाई सुदृढ बनाउने लक्ष्य लिएको छ ।

‘प्रतिभा नक्षत्र’ कार्यक्रमको सुरुवात केही वर्षअघि साना तथा युवापुस्तामा लुकेका प्रतिभाहरूलाई उजागर गर्ने उद्देश्यले गरिएको हो । विभिन्न चरणमा सफलतापूर्वक सम्पन्न भइसकेका यस कार्यक्रमले अन्तराष्ट्रिय स्तरमा समेत आफ्नो पहिचान बनाउँदै आएको छ । अघिल्ला संस्करणहरूमा विविध देशका सहभागीहरूले आफ्नो संस्कृति, कला र प्रतिभा प्रस्तुत गर्दै कार्यक्रमलाई समृद्ध बनाएका थिए। यसै निरन्तरतासँगै सातौँ संस्करण अझ व्यापक र अन्तर्राष्ट्रिय सहभागितासहित आयोजना हुन लागेको हो ।

कार्यक्रममा नेपाल बाहेक विश्वका विभिन्न देशबाट सहभागी हुन सक्ने व्यवस्था गरिएको छ । प्रतियोगिता दुई विधामा सञ्चालन हुनेछ—बाल प्रतिभा नक्षत्र (बालबालिका) र युथ प्रतिभा नक्षत्र (युवा)। दुवै समूहका सहभागीहरूले आफ्नै मौलिक सांस्कृतिक वा परम्परागत पोशाकमा कुनै पनि प्रकारको प्रतिभा प्रस्तुत गर्न सक्नेछन् ।

प्रतियोगिता तीन चरणमा सम्पन्न हुनेछ, जसमा परिचय चरण, प्रतिभा प्रदर्शन चरण तथा प्रश्नोत्तर चरण समावेश छन्। विजेताहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। बाल विधातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५००, ४०० र ३०० पाउण्ड प्राप्त गर्नेछन् भने युथ विधातर्फ ७००, ६०० र ५०० पाउण्ड प्रदान गरिनेछ । यसका साथै सबै विजेताहरूलाई ट्रफी, प्रमाणपत्र तथा उपहार सामग्रीसमेत प्रदान गरिने आयोजकले जनाएको छ ।

कार्यक्रमको अर्को विशेष आकर्षणका रूपमा ‘प्रतिभा नक्षत्र सांस्कृतिक गाउँ’ निर्माण गरिनेछ । यसअन्तर्गत विभिन्न समुदायहरूले आफ्ना परम्परागत पहिरनसहित सांस्कृतिक पहिचान प्रस्तुत गर्न सक्नेछन् । सांस्कृतिक गाउँभित्र साहित्य घर (किताब जात्रा), भान्सा घर, कला तथा हस्तकला घर, स्वास्थ्य तथा वातावरण घर र बिक्री तथा प्रवर्द्धन घर जस्ता विभिन्न संरचनाहरू रहनेछन् ।

साहित्य घरमा पुस्तक प्रदर्शनी तथा सांस्कृतिक प्रस्तुतिहरू गरिनेछन् भने भान्सा घरमार्फत परम्परागत खानाका परिकार तयार पारेर बिक्री गर्ने अवसर प्रदान गरिनेछ । त्यस्तै, कला तथा हस्तकला घरमा प्रदर्शनी, बिक्री तथा प्रत्यक्ष सिर्जनात्मक गतिविधिहरू सञ्चालन हुनेछन् । स्वास्थ्य तथा वातावरण घरले जनचेतना फैलाउने कार्यक्रमहरू आयोजना गर्नेछ भने बिक्री तथा प्रवर्द्धन घरमार्फत जैविक तथा वातावरणमैत्री सामग्रीहरूको प्रचार–प्रसार गरिनेछ ।

सांस्कृतिक विविधतालाई झल्काउन थारू घर, खस घर, नेवारी घर लगायतका परम्परागत संरचनाहरू पनि प्रस्तुत गरिनेछन् । साथै, अफ्रिकी समुदायसहित विश्वका अन्य समुदायहरूको सांस्कृतिक प्रतिनिधित्वसमेत रहनेछ । सांस्कृतिक गाउँमा सहभागिताका लागि उमेरको कुनै सीमा तोकिएको छैन ।

सहभागीहरूले प्रतिभा नक्षत्रको आधिकारिक वेबसाइट वा फेसबुक पेजमार्फत अनलाइन दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । आयोजकले समयमै दर्ता प्रक्रिया पूरा गरी कार्यक्रममा सहभागी हुन इच्छुक सबैलाई अनुरोध गरेको छ ।

आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य समानता, सहअस्तित्व, आपसी सम्मान तथा सांस्कृतिक आदान–प्रदानलाई प्रवर्द्धन गर्नुका साथै नयाँ पुस्तामा भाषा, संस्कार र परम्पराको हस्तान्तरण गर्नु हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK