Skip to content
LAXMI SUNRISE BANK

मध्यपूर्वी द्वन्द्वको प्रभावः इन्धनको मूल्यवृद्धिसँगै अष्ट्रेलियाको मुद्रास्फीति ४.६ प्रतिशत पुग्यो, दुई वर्षयताकै उच्च !

अर्थ सरोकार

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण इन्धनको मूल्यमा भएको भारी वृद्धिका कारण अष्ट्रेलियाको मुद्रास्फीति दर दुई वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मार्च महिनामा मुद्रास्फीति ४.६ प्रतिशत कायम भएको हो । 

एबीएसको आधिकारिक प्रतिवेदनअनुसार उपभोक्ता मूल्य सूचकांक (सीपीआई) फेब्रुअरीमा ३.७ प्रतिशत रहेकोमा मार्चमा बढेर ४.६ प्रतिशत पुगेको छ । यो सेप्टेम्बर २०२३ यताकै उच्च वार्षिक हेडलाइन मुद्रास्फीति दर हो । 

तथ्याङ्कअनुसार मासिक मुद्रास्फीति बढ्नुको मुख्य कारण सवारी इन्धनको मूल्यमा भएको वृद्धि हो । फेब्रुअरीदेखि मार्च महिनाको अवधिमा मात्र इन्धनको मूल्यमा ३२.८ प्रतिशतले वृद्धि भएको छ । जसमा नियमित अनलेडेड पेट्रोलको औसत मूल्य ३३ प्रतिशत र डिजेलको मूल्य ४१ प्रतिशतले बढेको एबीएसले जनाएको छ । 

एबीएसका मूल्य तथ्याङ्क विभाग प्रमुख सु-एलन ल्युकका अनुसार सन् २०१७ देखि तथ्याङ्क संकलन सुरु भएयता इन्धनको मूल्यमा देखिएको यो सबैभन्दा ठूलो मासिक वृद्धि हो । उनले यो बढोत्तरीले मध्यपूर्वमा जारी द्वन्द्वको प्रत्यक्ष प्रभावलाई प्रतिबिम्बित गरेको उल्लेख गरिन् । 

इन्धनका अतिरिक्त अन्य क्षेत्रमा पनि मूल्यवृद्धि देखिएको छ । एबीएसका अनुसार आवास लागत गत वर्षको तुलनामा ६.५ प्रतिशतले बढेको छ भने सरकारी अनुदान (रिबेट) योजनाहरू समाप्त भएसँगै बिजुलीको मूल्यमा २५.४ प्रतिशतको वृद्धि देखिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK