Skip to content
LAXMI SUNRISE BANK

ट्याक्सी व्यवसायमा सिन्डिकेट रहेको महावीर पुनको दाबी, भने- ‘कालो प्लेटकै लागि १५ लाख किन तिर्नुपर्छ ?’

अर्थ सरोकार

काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुनले ट्याक्सी व्यवसायमा सिन्डिकेट रहेको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै पुनले यस्तो दाबी गरेका हुन् । 

उनले ट्याक्सीको ‘कालो प्लेट’ (नम्बर प्लेट) वितरणमा ठूलो आर्थिक चलखेल र भ्रष्टाचार भइरहेको पनि बताएका छन् । यही कारण ट्याक्सी व्यवसायी र मजदुर चर्को शोषणमा परेको पुनको दाबी छ । 

सांसद पुनले सरकारले ट्याक्सी आयातमा २५० देखि ३०० प्रतिशतसम्म भन्सार शुल्क लिने गरेको उल्लेख गर्दै थप १५ लाख रुपैयाँ ‘कालो प्लेट’का लागि अवैध रूपमा असुल भइरहेको बताए । 

यस विषयमा आफूले यातायात विभागका महानिर्देशकसँग समेत छलफल गरेको र यसमा प्रदेश सरकारदेखि विभागसम्मको मिलेमतो हुनसक्ने आशंका व्यक्त गर्दै तत्काल छानबिन गरी खारेज गर्न माग सांसद पुनले माग गरेका छन् । ‘एउटा ट्याक्सी किन्न ३०-३५ लाख खर्चनुपर्छ । त्यसमाथि कालो प्लेट पाउन १५ लाख रुपैयाँ अतिरिक्त बुझाउनुपर्ने बाध्यता रहेछ ।’, उनले भने, ‘यो चरम सिन्डिकेट र भ्रष्टाचार हो ।’

त्यस्तै, एउटा ट्याक्सी चालकले १५ लाख रुपैयाँ उठाउन मात्रै करिब २५ महिना लाग्ने भन्दै यस्तो व्यवस्थाले निम्न वर्गका श्रमिकको परिवार पाल्न कठिन भएको उल्लेख गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK