Skip to content
LAXMI SUNRISE BANK

साँगामा यसरी बन्दैछ ‘अण्डरपास’… (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरिने प्रमुख पूर्वीनाका साँगामा निर्माण भइरहेको अण्डरपासले तीव्रता पाएको छ । अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायक-धुलिखेल सडक विस्तार आयोजना अन्तर्गत भक्तपुर र काभ्रेपलाञ्चोकको सीमास्थित साँगामा अण्डरपास निर्माण कार्य भइरहेको हो ।

हाल सूर्यविनायक-धुलिखेल सडक चार लेनमा स्तरोन्नति भइरहेको छ । साँगा क्षेत्रमा अग्लो पहाड भएकाले सडकलाई तलमाथि छुट्टाछुट्टै दुई/दुई लेनमा निर्माण गरिएको छ । यसअन्तर्गत काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधनका लागि बाँयातर्फ दुई लेनको एकतर्फी अण्डरपास निर्माण भइरहेको छ ।

आयोजनाका अनुसार साँगा क्षेत्रमा भक्तपुरबाट बाहिरिने क्रममा सवारीसाधनले लामो उकालो पार गर्नुपर्ने समस्या रहेकाले यात्रालाई सहज बनाउन अण्डरपास निर्माण गरिएको हो । साथै, साँगाचोकमा सवारी आवागमनलाई व्यवस्थित र निर्वाध बनाउने उद्देश्यसमेत रहेको जनाइएको छ ।

अण्डरपासको कुल लम्बाइ एक हजार ११० मिटर रहेको छ । यसमध्ये २० मिटर पुल, बनेपातर्फ १९० मिटर तथा भक्तपुरतर्फ ९०० मिटर एप्रोच सडक निर्माण भइरहेको छ । अण्डरपासको उचाइ ६ मिटर र चौडाइ साढे १० मिटर रहनेछ । हालसम्म अण्डरपास निर्माणको करिब ९० प्रतिशत काम सम्पन्न भएको आयोजनाले बताएको छ । अण्डरपासको मुख्य संरचना र एप्रोच सडक निर्माण सम्पन्न भइसकेको छ भने अहिले साइड सेयरवालपेभमेन्ट सतहको काम अन्तिम चरणमा पुगेको छ ।

निर्माण सम्पन्न भएपछि भक्तपुरबाट बनेपातर्फ जाने सवारीसाधन अण्डरपासमार्फत सञ्चालन हुनेछन् भने बनेपाबाट भक्तपुर आउने सवारीसाधन माथिल्लो सडकमार्ग प्रयोग गर्नेछन् । अण्डरपास निर्माण कार्य सूर्यविनायक-साँगा सडक खण्डको ठेक्का पाएको निर्माण कम्पनीले नै गरिरहेको हो । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK