Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र बैंकको प्रतिवेदनः औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै !

अर्थ सरोकार

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी हिस्सा बागमती प्रदेशमा केन्द्रित रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०८२ पुस मसान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये बागमती प्रदेशमा १२ खर्ब ८४ अर्ब ३० करोड अर्थात् ७२.२२ प्रतिशत कर्जा लगानी भएको छ । कर्णाली प्रदेशमा भने सबैभन्दा कम ४ अर्ब ४१ करोड अर्थात् ०.२५ प्रतिशत मात्र कर्जा प्रवाह भएको छ ।

प्रदेशगत रूपमा औद्योगिक कर्जाको हिस्सा कोशी प्रदेशमा ९.२२ प्रतिशत, मधेश प्रदेशमा ७.२२ प्रतिशत, गण्डकी प्रदेशमा १.६२ प्रतिशत, लुम्बिनी प्रदेशमा ७.९१ प्रतिशत तथा सुदूरपश्चिम प्रदेशमा १.५५ प्रतिशत रहेको छ । 

राष्ट्र बैंकका अनुसार औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा २०८१ पुस मसान्तको तुलनामा २०८२ पुस मसान्तमा ७.९९ प्रतिशतले वृद्धि भई १७ खर्ब ७८ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो कर्जा १७.६६ प्रतिशतले बढेको थियो । कुल बैंक कर्जामध्ये औद्योगिक क्षेत्रको हिस्सा ३०.८२ प्रतिशत रहेको छ ।

औद्योगिक कर्जामध्ये गैर-खाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगले सबैभन्दा बढी ३५.६७ प्रतिशत हिस्सा ओगटेको छ । त्यसपछि विद्युत, ग्यास तथा पानीसम्बन्धी उद्योगमा २६.६२ प्रतिशत, कृषि, वन तथा पेय पदार्थसम्बन्धी उद्योगमा २०.६४ प्रतिशत, निर्माणसम्बन्धी उद्योगमा १२.२६ प्रतिशत, धातुजन्य उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा ४.१४ प्रतिशत तथा खानीसम्बन्धी उद्योगमा ०.६७ प्रतिशत कर्जा प्रवाह भएको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा देशभर साना, मझौला र ठूला गरी ४ सय ६१ नयाँ उद्योग दर्ता भएका छन् । यस अवधिमा बागमती प्रदेशमा सबैभन्दा बढी ३ सय ६३ उद्योग दर्ता हुँदा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ४ उद्योग दर्ता भएका छन् । समीक्षा अवधिमा दर्ता भएका उद्योगमा प्रस्तावित विदेशी लगानी ५५ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । ती उद्योगमार्फत २२ हजार ८ सय ८५ जनालाई रोजगारी सिर्जना हुने अनुमान गरिएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK