Skip to content
LAXMI SUNRISE BANK

एक वर्षमा इस्टर्न मिल्सले गर्यो साढे १ अर्बको कारोबार, मूल्यवृद्धि र घट्दो भन्सार सुरक्षाले नाफामा दबाब

अर्थ सरोकार

काठमाडौँ । इस्टर्न सुगर मिल्स लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब ४९ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीको कारोबार अघिल्लो वर्षको १ अर्ब ४० करोड ५० लाख रुपैयाँको तुलनामा बढेको हो । रेटिङ एजेन्सी इक्रा नेपालको प्रतिवेदन अनुसार सन् २०२३ मा कम्पनीले १ अर्ब १२ करोड ५० लाख रुपैयाँ तथा सन् २०२२ मा ९४ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले गत वर्ष १ लाख ९१ हजार ३०२ मेट्रिक टन उखु प्रशोधन गरेको जनाएको छ ।

कम्पनीले अघिल्लो वर्ष सन २०२४ मा १ लाख ८५ हजार ५०४ मेट्रिक टन उखु प्रशोधन गरेको थियो । उखु प्रशोधनको मात्रा बढे पनि चिनी उत्पादनमा प्राप्त हुने ‘रिकभरी रेट’ घट्दा कम्पनीको नाफामा असर परेको इक्राको प्रतिबेदनमा उल्लेख छ । कम्पनीका अनुसार कम्पनीको चिनी रिकभरी दर सन् २०२४ को ८.८ प्रतिशतबाट घटेर सन् २०२५ मा ८.३ प्रतिशतमा झरेको छ । उखुको गुणस्तरसम्बन्धी समस्याका कारण रिकभरी दर घट्दा सञ्चालन नाफा मार्जिन (ओपीएम) पनि १५.३ प्रतिशतबाट ९.३ प्रतिशतमा खुम्चिएको छ ।

सरकारले आर्थिक वर्ष २०२४/२५ का लागि उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ५८५ रुपैयाँ निर्धारण गरेको थियो, जुन अघिल्लो वर्ष ५६५ रुपैयाँ थियो । उखुको मूल्य वृद्धि हुँदा उत्पादन लागत बढेर कम्पनीको नाफामा थप दबाब परेको मूल्यांकन गरिएको छ । यस्तै, चालु आर्थिक वर्षका लागि सरकारले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ पुर्याएको छ ।

अर्कोतर्फ चिनी आयातमा लाग्ने भन्सार शुल्क ३० प्रतिशतबाट घटाएर १५ प्रतिशतमा झारिएको छ । यसले स्वदेशी चिनी उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमतामा असर पर्ने तथा नाफा मार्जिन थप कमजोर हुने जोखिम देखिएको छ ।

कम्पनीले चिनी आयातमा भन्सार शुल्क कटौतीले स्वदेशी उद्योगहरूलाई चुनौती थपेको उल्लेख गरेको छ । यद्यपि भारतले हालै चिनी निर्यातमा लगाएको प्रतिबन्धले नेपाली उद्योगहरूलाई केही समयका लागि राहत दिन सक्ने अपेक्षा गरिएको छ ।

कम्पनीको वित्तीय अवस्था भने अझै कमजोर रहेको मूल्यांकन गरिएको छ । विगतका सञ्चित नोक्सानी र ऋणमा आधारित लगानीका कारण कम्पनीको पूँजी संरचना दबाबमा रहेको छ । ऋण सेवा क्षमता सन् २०२४ को १.१ गुणाबाट घटेर सन् २०२५ मा १.० गुणामा झरेको छ भने ब्याज भुक्तानी क्षमता पनि उल्लेख्य रूपमा कमजोर भएको छ ।  त्यसैगरी कुल ऋण र सञ्चालन नाफाबीचको अनुपात (टीडी/ओपीबिट्डा) ५.३ गुणाबाट बढेर ९.६ गुणामा पुगेको छ । कम्पनीको कार्यशील पूँजी आवश्यकता पनि बढ्दै गएको छ । सञ्चालन आम्दानीको तुलनामा कार्यशील पूँजीको अनुपात ३३ प्रतिशतबाट बढेर ४१ प्रतिशत पुगेको छ ।

कम्पनीले कम्पनीको आम्दानी मुख्य रूपमा चिनी बिक्रीमै निर्भर रहेकाले आम्दानी स्रोतको विविधीकरण नहुनु पनि जोखिमको विषय रहेको जनाएको छ । साथै उखु खेती मौसम, वर्षा, रोग/कीरा तथा अन्य कृषि/जलवायुजन्य जोखिममा निर्भर रहने भएकाले चिनी उद्योगको व्यवसाय स्वभावतः चक्रीय र जोखिमयुक्त रहेको उल्लेख गरिएको छ ।

स्टर्न सुगर मिल्स लिमिटेड १९९४ मा स्थापना भएको कम्पनी हो भने यसको व्यावसायिक सञ्चालन सन् १९९६ देखि सुरु भएको हो । कम्पनीको दैनिक उखु प्रशोधन क्षमता २,५०० टन रहेको छ । यसको चिनी उत्पादन उद्योग सुनसरी जिल्लाको अमाहीबेला क्षेत्रमा अवस्थित छ । यो कम्पनी मुख्य रूपमा दुई व्यावसायिक समूह गोल्छा समूह र विशाल समूहद्वारा प्रवद्र्धित कम्पनी हो । यसबाहेक विभिन्न संस्थागत तथा व्यक्तिगत लगानीकर्ताहरूको पनि कम्पनीमा लगानी रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK