Skip to content
LAXMI SUNRISE BANK

पानीमा डुबाइएका मोबाइलको क्षतिपूर्ति माग्दै विद्यार्थी, मोबाइल पसलेसँग मिलेमतोको आरोप, छानविनको माग

अर्थ सरोकार

काठमाडौँ । सिरहामा विद्यार्थी संगठनहरुले विरोध प्रदर्शनको घोषणा गरेका छन् । एसइई र कक्षा १२ को परीक्षा केन्द्रबाट जफत गरिएका मोबाइल र घडी पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध विद्यार्थी संगठनहरुले प्रदर्शनको घोषणा गरेका हुन् । 

संयुक्त विद्यार्थी संगठन नामको विद्यार्थी संगठनले सार्वजनिक गरेको सूचना अनुसार सोमबार दिउँसो १२ बजे जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरिनेछ । 

प्रदर्शनको मुख्य उद्देश्य पानीमा डुबाएर नष्ट गरिएको मोबाइल तथा घडीको क्षतिपूर्ति माग्नु रहेको बताइएको छ । प्रदर्शनको मुख्य नारा नै ‘विद्यार्थीलाई क्षतिपूर्ति दे सरकार’ हुने बताइएको छ । 

यसअघि जिल्ला प्रशासन कार्यालय सिरहाले एसइई र कक्षा १२ को परीक्षाका क्रममा विद्यार्थीबाट जफत गरिएका करिब ५०० मोबाइल तथा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरेको थियो । जसमध्ये ७ वटा आईफोन, ४ सय ८९ वटा एन्ड्रोइड फोन र ५ वटा स्मार्ट घडी थिए ।

यसो त यसअघि पनि थुप्रै ठाउँमा थुप्रै पटक परीक्षामा मोबाइल प्रयोग गरेको भन्दै परीक्षार्थीबाट मोबाइल जफत गरिएको घटना सार्वजनिक भएका छन् । तर, ती मोबाइलहरु कागज गरेर अभिभावकको जिम्मा लगाइन्थ्यो । तर, यसपटक सबै मोबाइल तथा घडी पानीमा डुबाएर नष्ट गरिएपछि प्रहरीको चौतर्फी आलोचना भएको छ । 

यतिसम्म कि मोबाइल पसलेसँगको मिलेमतो र मोबाइल पसलेकै आइडियामा प्रहरीले यस्तो गरेको आरोप समेत लागेको छ । प्रदर्शनको घोषणा गरेका विद्यार्थीले त्यसतर्फ पनि छानविन गर्न माग गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK