Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ बैंकमा अर्को डरलाग्दो ऋणकाण्ड, किर्ते कागजमा ऋण दिएर बैंक कर्मचारी फरार ! (भिडियो ब्रिफिङ)

अर्थ सरोकार

काठमाडौँ । केही दिन अघि मात्र एक ऋणीले सिद्धार्थ बैंकका कर्मचारीले आफ्नो नाममा ऋण निकालेर आफूलाई थाहा नै नदिई सुटुक्क पैसा बैंककै कर्मचारीको खातामा पठाएको भन्दै पत्रकार सम्मेलन गरे । यो कुनै आरोप थिएन, बरु तथ्य थियो । स्टेटमेन्टमा सिद्धार्थ बैंकका कर्मचारीको बदमासी प्रष्ट देखिएपछि दुई कर्मचारीलाई बैंकले निलम्बन गर्यो । बैंकले निलम्बन गरेपछि अहिले ती कर्मचारी सम्पर्कविहीन छन् । राष्ट्र बैंक, अर्थ मन्त्रालय, सीआईबी लगायतका निकायमा सो केस विचाराधीन छ । यस्तो गम्भीर घटना बाहिरिएको केही समय नबित्दै त्यही सिद्धार्थ बैंकका कर्मचारीले गरेको अर्को बदमासी पनि सार्वजनिक भएको छ । बैंककै कर्मचारीको मिलेमतोमा अर्काको जग्गाको नक्कली साहु खडा गरेर बैंकका कर्मचारीले ५० लाख रुपैयाँ ऋण दिएको, र घटना प्रहरीमा पुगेपछि बैंकका कर्मचारी फरार रहेको खुलासा भएको छ । र आज हामी सिद्धार्थ बैंकका कर्मचारीले गरेको यही बदमासीबारे तथ्य खोतल्दैछौँ

सुरुमा बुझौँ घटना के हो भन्ने विषय 
मोहन बहादुर शाही वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब थिए । पोखरा महानगरपालिका वडा नम्बर ३०मा उनको जग्गा थियो, नेपाल आउने जाने गरिरहन्थे । विदेशमा केहि पैसा कमाएर नेपाल फर्केर सहज जीवन बिताउला भन्ने सोचेर उनी विगत १५ वर्षदेखि विदेशमा पसिना बगाइरहेका थिए । गत ११ अप्रिलमा उनी नेपाल आए । बैशाख १७ गतेको रिटर्न फ्लाइट थियो । पुनः विदेश जाने तरखरमा रहेका उनले आफ्नी श्रीमतीलाई आफ्नो नामको घरजग्गाको लालपुर्जा कहाँ छ ? भनेर सोधे । उनले कहिले माइतमा छ, कहिले बैंकमा ऋण लिएको छ भनेपछि मोहन बहादुरलाई शंका लाग्यो । त्यसपछि उनले मालपोत कार्यालय गएर श्रेस्ता हेर्दा सिद्धार्थ बैंकले आफ्नो जग्गा रोक्का राखेको थाहा पाए ।   

जग्गा आफ्नो, आफू विदेशमा, बैंकले कसरी रोक्का राख्यो ? मोहन बहादुर अलमलमा परे । त्यसपछि उनी सिद्धार्थ बैंक गए । बैंक गएर बुझ्दा त उनकी श्रीमती वन्ती शाहीले मेरो पति यिनै हुन् भनेर भद्र थापा नाम गरेका व्यक्ति देखाएको, ऋणको कागजमा अरुकै फोटो टाँस गरी मोहन बहादुरको किर्ते सही छाप गरेर ऋण लिएको खुलासा भयो । 

मोहन बहादुरका नाममा रहेको कित्ता नं. २४४४ र २४४७ को जग्गालाई रातारात भद्र बहादुर थापाको जग्गा हो भनी नक्कली कागज बनाएर र बैंकबाट ५० लाख रुपैयाँ ऋण त निकालियो, तर अर्काको जग्गा यसरी सहजै एउटाले मेरो हो भन्दैमा बैंकले भेरिफाई गर्दैन र ? यो प्रश्नको जवाफ बुझ्न बैंकका कर्मचारीले गरेको सेटिङ्गसम्म पुग्नुपर्छ । 

मोहन बहादुरकी श्रीमतीसहित एउटा गिरोह नै लागेर मालपोतदेखि वडासम्म सबैतिर सेटिङ्ग गरे । सो सेटिङ्गमा सिद्धार्थ बैंकका कर्मचारीले पनि साथ दिए । र अन्ततः सिद्धार्थ बैंकले रियल जग्गाधनीलाई थाहा नै नदिई नक्कली जग्गाधनीको किर्ते कागजका भरमा ५० लाख रुपैयाँ ऋण दियो । 

जव शाही आफ्नै श्रीमतीले समेत धोका दिएर आफ्नो जग्गा किर्ते सही छापका भरमा बैंकमा रोक्का भएको थाहा पाए,  तव उनी प्रहरीकहाँ गए । प्रहरीले केहिलाई पक्राउ गरी अनुसन्धान अगाडी बढायो । बैंकका कर्मचारी विवेक लामिछाने कहाँ भागे कहाँ, प्रहरीले पत्तो नै पाउन सकेन । र अन्ततः यो केस अहिले जिल्ला अदालत कास्की पुगेको छ । यो प्रकरणमा दोषीले के कस्तो सजाय पाउलान्, त्यो अदालतको विषय होला, तर बैंकले फर्जी कागजका भरमा ऋण दिएको विषय गम्भीर छ । 

यो घटनामा बैंकका कर्मचारीको प्रष्ट मिलेमतो छ भन्ने कुरामा कुनै शंका रहेन । किनकि, बैंकले कुनै पनि जग्गा धितोमा राखेर पहिलो पटक ऋण लिँदा त्यसको फिजिकल भेरिफिकेसन हुनुपर्छ । अर्थात् बैंकका कर्मचारी फिल्डमै गएर सो जग्गा छ कि छैन, पुर्जा अनुसार जग्गा मिलेको छ कि छैन, सो जग्गा ऋणीको नाममा छ कि छैन भन्ने प्रष्ट यकिन गरिनुपर्छ । तर, बैंकका कर्मचारी फिल्डमा गए कि गएनन् उनैले जानुन्, तर नक्कली जग्गा राखेर बैंकले ऋण दियो ।           

बैंकमा कर्जा लिने दिने काम कोहि एक कर्मचारीको एस वा नोमा मात्र सिमित हुँदैन । तर सबैतिरबाट सही गरी ऋण दिईएको छ । ऋण दिने बखत, फिल्डको भेरिफिकेसनलाई वास्ता नगरिनुले बैंकका कर्मचारीको यो केसमा संलग्नता छ भन्ने शंका गर्ने ठाउँ छ । अझ बैंककी कर्मचारी मन्जु अधिकारीले प्रहरीको बयानमा सो कर्जा अप्रुभ गर्दा बैंकका शाखा प्रबन्धक बिदामा रहेको र आफुले गरेको भनेकी छिन् । आफुले सिष्टममा कागजात हेरेको र ठिक लागेपछि अगाडी बढेको र आफूलाई सो कागजहरु किर्ते हो भन्ने थाहा नभएको दाबी उनको छ ।

बैंकका मेनेजर तिर्थराज घिमिरेले ऋणीले बैंकलाई गुमराहमा राखेको बयान प्रहरीसमक्ष दिएका छन् । उनले त उल्टै यो किर्ते प्रकरणमा बैंकका आफुसहितका कर्मचारीहरु पनि पीडीत भएको दाबी गरेका छन् । बैंकका गण्डकी प्रदेश प्रमुख निरज श्रेष्ठले त अझ प्रहरीकै बयानमा ओरिजिनल भेरिफिकेसन चाहिने स्वीकारेका छन् । तर कोहि आएर उहाँ नै मेरो श्रीमान् हो भनी आफूलाई झुक्याएको दाबी उनको छ । प्रहरीसमक्ष बयानमा उनले आफुले जानी जानी सो कर्जा प्रवाह नगरेको बताएका छन् । तर, उनले जानी जानी गरेका हुन् कि नजानी भन्ने यकिन तथ्यसहितको तर्क बयानमा छैन । बस्, उनले त झुक्याउनेले झुक्यायो, त्यसैले ओरिजिनल भेरिफिकेसन नगरी ऋण दियौँ भन्ने आशयको बयान दिएका छन् ।  गण्डकी प्रदेश प्रमुखको बयानले पनि प्रष्ट पारेको छ- ‘बैंकको गल्ती भएकै हो ।’

अझ विवेक लामिछाने त पिडित प्रहरीकहाँ पुगेलगत्तै फरार छन् । प्रहरीले उनलाई फरार भनेर मुद्धा दर्ता गरिसकेको छ । अदालतमा प्रहरीले फरार भनेर मुद्धा दर्ता गरिसकेपछि स्वत रुपमा लामिछाने निलम्बित हुने कानुनी व्यवस्था छ । तर, बैंकका सूचना अधिकारी प्रशन्न खड्का भन्छन्– उनी भागेका पनि छैनन्, उनी निलम्बनमा पनि परेका होइनन् । अव भयो त ? उनी भागेका छैनन् भने प्रहरीले किन उनी फरार भनेर मुद्धा दर्ता गर्यो त ? अनि ठगी वा बैंकिङ कसुरमा मुद्धा नै दर्ता भईसकेपछि ती कर्मचारी निलम्बनमा पर्नुपर्ने त स्वतः हुनुपर्ने होइन र ? कि बैंकले नै विवेक लामिछानेलाई लुकाएर राखेको छ ? सूचना अधिकारी प्रशन्न खड्काको बोलीलाई आधार बनाएर अर्को अनुसन्धान गर्नुपर्ने विषय हो यो । 

अव प्रश्न उठेको छ, के विदेश जाँदा अव आफ्नो लालपुर्जा पनि सँगै लैजानुपर्ने हो ? कि बिदेश जाँदा अव आफ्नो नामको सबै सम्पत्ति कुनै न कुनै तरिकाले रोक्का गरेर जानुपर्ने हो ? सिद्धार्थ बैंकले ओरिजिनल भेरिफिकेसन विना कसरी कसैको जग्गा रोक्का राख्न सक्छ ? बैंकका प्रदेश प्रमुखले भनेजसरी, भेरिफिकेसन त गर्नुपर्ने हो, तर हामीलाई झुक्याइयो भनेर सुख पाइन्छ ? यसरी बैंकप्रतिको विश्वास कायम रहन्छ ? अनि प्रहरीले नै कर्मचारी फरार भनिसकेको अवस्थामा  होइन भन्न पनि मिल्छ ? यसरी पनि बैंकको थेगो जस्तो सम्बन्ध सधैंभारीलाई हुन्छ त ?

हामी फेरी पनि भन्छौँ, लाखौँ ग्राहकको विश्वास जोडिएको संस्था हो । बैंकले यस्तो गम्भीर विषयमा केटाकेटी कुरा गर्नु हुँदैन । बाँकी त अदालत छ, अदालतले दुधको दुध पानी छुट्याईहाल्छ । (भिडियो)

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK