Skip to content
LAXMI SUNRISE BANK

‘जग्गाजस्ता सट्टाबाजीजन्य सम्पत्तिमा लगानी खनाउनु भन्दा उत्पादक क्षेत्रमा पूँजी परिचालन हुनुपर्छ’- गभर्नर

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले दोस्रो चरणको वित्तीय क्षेत्र सुधारका लागि नयाँ दृष्टिकोण आवश्यक रहेको बताएका छन् । पूर्वयोजनाकार मञ्च नेपालद्वारा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले परम्परागत बैंकिङ प्रणालीको विकल्पका रूपमा डिजिटल र अनचेन भुक्तानी प्रणालीहरू सशक्त बन्दै गएको बताएका हुन् । 

उनले बदलिँदो वैश्विक परिवेशमा बैंकिङ क्षेत्रले विभिन्न चुनौतीहरूको सामना गरिरहेको बताए । पछिल्लो समय अमेरिका लगायतका देशहरूमा बिटक्वाइन र अन्य क्रिप्टोकरेन्सीको उदयसँगै ‘अनचेन पेमेन्ट’ को लोकप्रियता बढ्दै गएको गभर्नर पौडेलले उल्लेख गरेका छन् । 

बैंकहरूले गर्ने क्लियरिन्स र मध्यस्थताको काम अब वैकल्पिक प्रविधिहरूले गर्न थालेको उनको विश्लेषण छ । बैंकले इन्टरमेडियरी एजेन्सीको रूपमा गरिरहेको कामको विकल्पमा धेरै चिजहरू निस्कन थालेको र यसले गर्दा बैंकिङ क्षेत्रमा नयाँ चुनौतीहरू थपिएको गभर्नर पौडेलको भनाई छ ।

उनले यी चुनौतीहरूलाई सम्बोधन गर्न बैंकहरूको वर्गीकरणमा मात्र सीमित नभई क्रिप्टोकरेन्सीको बढ्दो प्रभाव र अनचेन ट्रान्जेक्सन सिस्टमलाई समेत ध्यानमा राखेर वित्तीय सुधारका योजनाहरू बनाउनुपर्ने बताएका छन् । 

त्यस्तै, मौद्रिक नीति तर्जुमा गर्दा राजनीतिक दबाब वा हतारोमा निर्णय लिन नहुने गभर्नर पौडेलको तर्क छ । उनले बजेट निर्माणको समयमाजस्तै अन्तिम घडीमा आउने डेलिगेसन र प्रभावबाट मौद्रिक नीति मुक्त हुनुपर्ने उनले स्पष्ट पारेका छन् । गभर्नर पद एक नियुक्त पद भएकाले यसलाई अनावश्यक रूपमा प्रचारमुखी बनाउनु भन्दा ऐनले दिएको म्यान्डेट भित्र रहेर संस्थागत स्थायित्वका लागि काम गर्नुपर्ने उनको भनाई छ ।

त्यस्तै, उनले तरलता व्यवस्थापन र आर्थिक विकासका लागि मौद्रिक नीति भन्दा पनि वित्त नीतिले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन् । एक्सप्रेस-वेसुरुङमार्गजस्ता पूर्वाधार विकासमा पनि सरकारले स्पष्ट वित्त नीति ल्याएमा निजी क्षेत्र र बैंकिङ क्षेत्रको लगानी आकर्षित भई मुलुकको रूपान्तरण सम्भव हुने उनले दाबी गरेका छन् । जग्गाजस्ता सट्टाबाजीजन्य सम्पत्तिमा लगानी खन्याउनु भन्दा उत्पादक क्षेत्रमा पूँजी परिचालन गर्न वित्त नीतिले मार्गप्रशस्त गर्नुपर्ने उनको सुझाव छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK