Skip to content
LAXMI SUNRISE BANK

सोमबार उद्घाटन हुँदै नागढुंगा-सिस्नेखोला सुरुङमार्ग, तत्काल आकस्मिक सवारीलाई मात्र प्रवेश अनुमति !

अर्थ सरोकार

काठमाडौँ । नोगढुङ्गा-सिस्नेखोला सुरुङमार्गको सोमबार उद्घाटन गरिने भएको छ । जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण गरिएको नोगढुङ्गा-सिस्नेखोला सुरुङमार्गको सोमबार औपचारिक उद्घाटन गरिने भएको हो ।

कुल लागत करिब १९ अर्ब रुपैयाँ रहेको उक्त सुरुङमार्गको लम्बाई २.६८ किलोमिटर रहेको सडक विभागका महानिर्देशक डा. विजय जैशीले बताएका छन् ।

जैशीका अनुसार सुरुङमार्गको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्षले संयुक्त रुपमा गर्ने तयारी छ । उद्घाटन पश्चात तत्कालका लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सवारी साधनलाई मात्र प्रवेश दिइने जैशीले बताएका छन् ।

उद्घाटनको एक साताभित्र सुरुङभित्र हुनसक्ने सम्भावित दुर्घटना वा आगलागीजस्ता विपद्को पूर्वतयारी स्वरुप ‘मक ड्रिल’ (नमूना अभ्यास) गरिनेछ । उक्त अभ्यास सफल भएपछि करिव एक हप्ताका लागि परीक्षणका रूपमा एकतर्फी (वान-लेन) सञ्चालन गरिनेछ । सो अवधिमा सुरुङभित्रका जेट फ्यानहरूको अवस्था, वायु उत्सर्जन र गतिको प्राविधिक जाँच गरी करिव एक महिनाभित्र मात्रै सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइने विभागको योजना रहेको जैशीले बताए ।

जैशीका अनुसार सुरुङमार्गमा मोटरसाइकल र प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका सवारी साधनलाई भने गुड्न निषेध गरिएको छ । विगतमा ‘बिल अफ क्वान्टिटी’ (बीओक्यु) मोडालिटीमा आधारित रही सडक विभाग आफैँले डिजाइन र सुपरीवेक्षणमा जापानी परामर्शदाताको सहयोग लिएर यो आयोजना अघि बढाएको थियो । प्राविधिक चुनौती र स्थानीय तहमा रहेका अन्योललाई चिर्दै निर्माण सम्पन्न भएको यस आयोजनाले नेपालको पूर्वाधार विकासमा नयाँ आत्मविश्वास थपेको महानिर्देशक जैसीले बताए ।

जापानी निर्माण कम्पनी ‘हाज्मा आन्दो कर्पोरेसन’ ले वि.सं. २०७६ देखि यस आयोजनाको निर्माण सुरु गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK