Skip to content
LAXMI SUNRISE BANK

‘नेप्सेले यो सरकारलाई पटक्कै पत्याएन’- अनन्त भट्टराई

अर्थ सरोकार

काठमाडौँ । बजार अत्यन्तै निष्ठुर हुन्छ । यसले भावना होइन, नाफा-नोक्सान, डर र लोभका आधारमा आफ्नो दिशा तय गर्छ ।

सन् २०२१ मा उच्च बिन्दुमा पुगेको नेपालको सेयर बजार (नेप्से) आजसम्म पनि त्यही स्तरमा पुग्न संघर्षरत छ । कोभिड-१९ महामारीले गम्भीर रूपमा प्रभावित बनेको बजारलाई पुनः लयमा फर्किन लामो समय लाग्यो । अगस्ट २०२४ मा बजारले पुनः त्यही उच्च बिन्दु छुने प्रयास गरे पनि करिब ५ प्रतिशतले पछि पर्यो । त्यसपछि जुलाई २०२५ मा फेरि उकालो लाग्ने संकेत देखिएको थियो । तर, सेप्टेम्बरको पहिलो सातादेखि सुरु भएको जेन-जी आन्दोलनका कारण बजार फेरि ओरालो लाग्न थाल्यो, जुन अस्थिर राजनीतिक अवस्थाका कारण स्वाभाविक नै थियो। बजारले अस्थिरतालाई कहिल्यै रुचाउँदैन ।

यद्यपि, सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको पछिल्ला चार महिनामा बजार तल्लो बिन्दुबाट निरन्तर सुधारको दिशामा अघि बढिरहेको थियो । त्यसपछि निर्वाचन सम्पन्न भयो र नयाँ सरकार गठन भयो ।

तर, नयाँ सरकार गठन भएयता बजार करिब १० प्रतिशतले घटिसकेको छ । जबकि यस्तो बलियो सरकार बनेपछि लगानीकर्ताको आत्मविश्वास बढ्दै बजार कम्तीमा १० प्रतिशतले उकालो लाग्ने अपेक्षा गरिएको थियो । यसको दोष अमेरिका-इरान युद्धलाई दिन सकिएला । तर, पछिल्ला ६ महिनामा अमेरिकी सेयर बजार २० प्रतिशतभन्दा बढीले बढेको छ भने एसियाका अधिकांश सेयर बजार पनि १० प्रतिशतभन्दा बढीले उकालो लागेका छन् ।

यस्तो अवस्थामा सुशासनको नारा लिएर आएको सरकारप्रति बजारले विश्वास नदेखाउनुको अर्थ अवश्य पनि केही न केही छ । त्यो अर्थ नेपाली लगानीकर्ताले अरू कसैले भन्दा राम्रोसँग बुझ्न सक्छन् ।

कतिपयले अर्थतन्त्र र आर्थिक बजार एउटै होइन भन्ने तर्क गर्न सक्छन् । निश्चय नै यी दुई एउटै होइनन्। तर, आर्थिक बजारले अर्थतन्त्र कुन दिशातर्फ अघि बढिरहेको छ भन्ने महत्वपूर्ण पूर्वसूचकको भूमिका भने खेल्छ । अधिकांश अवस्थामा अर्थतन्त्र र सेयर बजार समानान्तर रूपमा अघि बढ्ने गर्छन्। तर, अहिलेको नेप्सेले भने अर्थतन्त्रप्रति सकारात्मक संकेत दिएको देखिँदैन ।

विश्वभरका सरकारहरूले आर्थिक बजार तथा घरजग्गा कारोबारलाई चलायमान बनाउन विभिन्न नीति, कर छुट तथा प्रोत्साहनका कार्यक्रम लागू गरिरहेका हुन्छन् । यसको कारण स्पष्ट छ- आधुनिक अर्थतन्त्रमा नागरिकहरूले आफ्नो बचत खाटमुनि लुकाएर राख्दैनन्, बरु बजारमा लगानी गर्छन् । त्यही लगानी उनीहरूको पेन्सन, बुढेसकालको आयस्रोत र भविष्यको आर्थिक सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । त्यसैले सरकारहरूले आर्थिक बजार निरन्तर ओरालो लाग्न नदिन हरसम्भव प्रयास गरिरहेका हुन्छन् ।

आशा गरौँ, वर्तमान सरकारले पनि नेप्से तथा समग्र व्यापारिक वातावरणलाई माथि उठाउन प्रभावकारी पहल गर्नेछ । लगानीकर्तालाई लगानी गर्न प्रोत्साहित गर्ने, व्यवसायीहरूलाई डर र त्रास होइन, विश्वास र सहजताको वातावरण प्रदान गर्ने नीति अवलम्बन गर्नेछ । त्यसबाट मात्रै आर्थिक गतिविधि विस्तार हुनेछ, लगानी बढ्नेछ र अर्थतन्त्रले दीर्घकालीन गति लिन सक्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK