Skip to content
LAXMI SUNRISE BANK

प्लाइउड निर्यातका अवरोध हटाउन प्रधानमन्त्रीको निर्देशन

अर्थ सरोकार

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्लाइउड निर्यातका अवरोध हटाउन निर्देशन दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समितिसँगको भेटवार्तामा प्रधानमन्त्री शाहले यस्तो निर्देशन दिएका हुन् ।

वार्तामा प्लाइउड क्षेत्रका विद्यमान समस्या र निर्यातका सम्भावनाबारे विस्तृत छलफल भएको थियो । त्यसलगत्तै प्रधानमन्त्री शाहले प्लाइउड निर्यातमा देखिएका नीतिगत र प्राविधिक गाँठो फुकाउन तत्काल सम्बन्धित निकायलाई निर्देशन दिएको नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समितिका सभापति होमप्रसाद दाहालले बताएका छन् । 

दाहालका अनुसार प्लाइउड व्यवसायीहरूले यस क्षेत्रलाई नेपालको निर्यात व्यापारको एक प्रमुख हिस्साका रूपमा प्रस्तुत गर्दै यसका चुनौतीहरूबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । 

व्यवसायीहरूले कच्चा पदार्थको आपूर्तिमा देखिएका समस्या, भारतीय गुणस्तर मापदण्ड र नेपाल गुणस्तर बीचको समकक्षता कायम गर्नुपर्ने आवश्यकता लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए । विशेषगरी प्लाइउड, ढोका (डोर)काठजन्य सामग्री निर्यातका लागि आवश्यक फाइटो स्यानिटरी र फ्युमिगेसन सर्टिफिकेटसम्बन्धी कार्यविधि नहुँदा निकासी प्रक्रिया रोकिएको विषयमा व्यवसायीहरूले जोड दिएका थिए । 

सरकारले अघि सारेको काठ निर्यातको योजनालाई सफल बनाउन सल्लो र अन्य हार्डउडजन्य सामग्रीको निर्यातका लागि आवश्यक कार्यविधि तत्काल तयार गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

त्यस्तै, स्वदेशमा तयारी वस्तु उत्पादन गर्ने सम्भावना हुँदाहुँदै ठूलो परिमाणमा कच्चा पदार्थ बाहिरिरहेको विषयमा पनि छलफल भएको छ । यस सम्बन्धमा सरकारले आवश्यक परामर्श गरी ठोस कदम चाल्ने आश्वासन दिएको दाहालले बताए । प्रधानमन्त्रीको सक्रियतापछि निर्यातमा देखिएका क्वारेन्टाइनसम्बन्धी समस्याहरू छिट्टै समाधान हुनेमा व्यवसायीहरू आशावादी देखिएका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK