Skip to content
LAXMI SUNRISE BANK

निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको ‘हेड टू हेड’ छलफल, समस्या समाधान गर्ने प्रतिबद्धता !

अर्थ सरोकार

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले निर्माण व्यवसायीहरुसँग छलफल गरेका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरुसँग छलफल गरेका हुन् । 

छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्रका विद्यमान समस्या, निर्माण व्यवसायको प्रवर्द्धन, भौतिक पूर्वाधार विकास लगायतका विषयमा छलफल गरेका छन् । 

सोही क्रममा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकका आर्थिक विकास, रोजगारी सृजना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै निर्माण क्षेत्रमा देखिएका व्यवहारिक समस्या समाधानका लागि सरकार सकारात्मक रहेको बताएका छन् । 

उनले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका काम समयमै सम्पन्न गर्न सबै पक्षको सक्रिय र प्रभावकारी सहकार्य अपरिहार्य रहेको पनि बताएका छन् ।

छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी थिए । उनीहरुले निर्माण क्षेत्रले भोग्दै आएका भुक्तानी, म्याद थप, ठेक्का व्यवस्थापन, समयमै आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानीसम्बन्धी चुनौतीबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएका छन् । 

त्यस्तै, निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा निर्माण व्यवसायीहरुले जोड दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK