Skip to content
LAXMI SUNRISE BANK

सानिमा बैंकको खुद नाफा र इपिएस दुवै बढ्यो

अर्थ सरोकार

काठमाडौँ । सानिमा बैंकको नाफा बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ३८.०१ प्रतिशतले बढेको हो । समीक्षा अवधिमा बैंकले कुल ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ३५ करोडबाट बढेर ६ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंकले खुद शुल्क तथा कमिसनबापत १ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेको छ भने बैंकको सञ्चालन मुनाफा ३ अर्ब ५७ करोडबाट बढेर ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.०१ प्रतिशतबाट घटेर २.८७ प्रतिशतमा झरेको छ भने निष्क्रिय कर्जा १.०२ प्रतिशतमा झरेको छ । यस अवधिमा बैंकको वितरयोग्य नाफा २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ भने प्रतिसेयर वितरणयोग्य नाफा २० रुपैयाँ ८५ पैसा कायम भएको छ ।

नाफासँगै यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी (इपिएस) पनि बढेको छ । चौथो त्रैमासमा बैंकको इपिएस ६ रुपैयाँ ८१ पैसाले बढेर २५ रुपैयाँ ७५ पैसा पुगेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ४२ पैसा पुगेको छ । चुक्ता पूँजी १५ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ रुपैयाँ रहेको बैंकको कुल निक्षेप २ खर्ब २३ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा १ खर्ब ७६ अर्ब रुपैयाँबाट बढेर १ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK